काठमाडौँ। गर्मी मौसमले शरीरमा थकान, पसिना र असहजता मात्र बढाउँदैन, महिलाहरूको हर्मोन सन्तुलनमा समेत प्रभाव पार्न सक्छ। चिकित्सकहरूका अनुसार अत्यधिक तापक्रम, पानीको कमी र तनावका कारण महिनावारी चक्रमा विभिन्न प्रकारका परिवर्तन देखिन सक्छन्।
सामान्य अवस्थामा नियमित रहने महिनावारी गर्मी बढेसँगै कहिले समयअघि हुने, कहिले ढिलो हुने वा रक्तश्रावको मात्रा घट्ने–बढ्ने समस्या देखिन सक्छ। विशेषज्ञहरूका अनुसार यो शरीरले उच्च तापक्रमसँग जुध्ने क्रममा देखाउने प्राकृतिक प्रतिक्रिया हो। गर्मीका कारण शरीरले आफूलाई चिसो राख्न बढी ऊर्जा खर्च गर्नुपर्ने हुन्छ। यस क्रममा महिनावारीलाई नियमन गर्ने एस्ट्रोजन र प्रोजेस्टेरोनजस्ता हर्मोन प्रभावित हुन सक्छन्, जसले चक्रमा अनियमितता ल्याउन सक्छ।
शरीरमा पानीको कमी हुँदा रक्तसञ्चार प्रणालीमा पनि असर पर्छ। यसले कतिपय महिलामा अत्यधिक रक्तश्राव हुने, कतिपयमा कम हुने समस्या निम्त्याउन सक्छ। डिहाइड्रेसनले पेट तथा कम्मर दुख्ने, शरीर भारी हुने र असहजता बढाउने सम्भावना पनि हुन्छ। गर्मीका बेला बढ्ने मानसिक तनावले पनि महिनावारी चक्रलाई प्रभावित पार्न सक्छ। तनावका कारण शरीरमा कोर्टिसोल हर्मोनको मात्रा बढ्दा चिडचिडापन, थकान, भावनात्मक उतारचढाव र मुड परिवर्तनका समस्या देखिन सक्छन्। निद्रामा पर्ने असर पनि अर्को महत्वपूर्ण पक्ष हो। अत्यधिक गर्मीका कारण पर्याप्त र गुणस्तरीय निद्रा नपाउँदा हर्मोनको सन्तुलन बिग्रन सक्छ, जसले महिनावारी चक्रलाई थप प्रभावित बनाउँछ।
साथै, महिनावारीपूर्व देखिने लक्षण ९पीएमएस० जस्तै टाउको दुख्ने, शरीर दुख्ने, वाकवाकी लाग्ने र बेचैनी हुने समस्या पनि बढ्न सक्छ। विशेषज्ञहरूले गर्मी मौसममा महिलाहरूले शरीरलाई पर्याप्त हाइड्रेट राख्न सुझाव दिएका छन्। दिनभर पर्याप्त पानी पिउने, खरबुजा, काँक्रो जस्ता पानीयुक्त फलफूल खाने, नरिवल पानी तथा मही सेवन गर्ने, हल्का र सन्तुलित भोजन गर्ने, क्याफिनयुक्त पेय पदार्थ कम खाने तथा नियमित व्यायाम र योग गर्ने बानीले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ। यद्यपि, महिनावारी चक्रमा लामो समयसम्म असामान्य परिवर्तन देखिएमा वा समस्या जटिल बन्दै गएमा चिकित्सकको परामर्श लिनु आवश्यक रहेको विज्ञहरूको सुझाव छ।