काठमाडौँ । कुनै काम गर्न जाँदा किन गएको बिर्सिने, बोल्दै गर्दा कुरा बिर्सिने वा सामान्य काममा समेत ध्यान केन्द्रित गर्न कठिन हुने अवस्थालाई ‘ब्रेन फग’ भनिन्छ। यो आफैंमा कुनै रोग नभए पनि मानसिक कार्यक्षमतामा अस्थायी रूपमा आउने समस्याको संकेत भएको चिकित्सकहरूले बताएका छन्।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार अत्यधिक तनाव, पर्याप्त निद्राको अभाव, रजोनिवृत्ति, लामो समयसम्म रहने कोभिडको असर तथा केही अटोइम्युन रोगका कारण ब्रेन फग देखिन सक्छ। अत्यधिक कामको चाप र मानसिक थकानका कारण पनि यस्तो समस्या उत्पन्न हुने बताइएको छ। चिकित्सक डा. थराकाले ब्रेन फगबाट बच्न दैनिक जीवनशैलीमा सुधार आवश्यक रहेको बताएका छन्। उनका अनुसार नियमित दिनचर्या अपनाउने, कामको बीचमा छोटो विश्राम लिने र सबै काम सम्झेर राख्नुभन्दा क्यालेन्डर वा रिमाइन्डरको प्रयोग गर्ने बानीले मानसिक बोझ कम हुन्छ। उनले ब्रेन फगलाई कमजोरीका रूपमा नलिन पनि सुझाव दिएका छन्। उनका अनुसार यो अधिकांश अवस्थामा अस्थायी समस्या भएकाले आवश्यक परे केही समय आराम गर्ने, जिम्मेवारी बाँड्ने र पर्याप्त विश्राम लिनु उपयुक्त हुन्छ।
डा। थराकाले मस्तिष्कलाई स्वस्थ राख्न ‘स्वान्स’ नामक पाँच उपाय अपनाउन पनि सुझाव दिएका छन्। यसअन्तर्गत पर्याप्त निद्रा, प्रशस्त पानी पिउने, नियमित शारीरिक गतिविधि गर्ने, सन्तुलित तथा पौष्टिक आहार खाने र तनावलाई नियन्त्रणमा राख्ने बानी समावेश छन्। उनका अनुसार हरेक रात सातदेखि नौ घण्टासम्म गुणस्तरीय निद्रा लिनु, दिनभर पर्याप्त पानी पिउनु, नियमित हिँडडुल वा हल्का व्यायाम गर्नु, अण्डा, माछा, गेडागुडी तथा बदामजस्ता पोषक तत्वयुक्त खानेकुरा सेवन गर्नु र ध्यान, योग वा श्वासप्रश्वासका अभ्यासमार्फत तनाव व्यवस्थापन गर्नु मस्तिष्कको कार्यक्षमता सुधार गर्न प्रभावकारी मानिन्छ।स्वास्थ्य विज्ञहरूले ब्रेन फग लामो समयसम्म रहिरहे, दैनिक कामकाजमा गम्भीर असर पारे वा अन्य असामान्य लक्षणसमेत देखिएमा चिकित्सकसँग परामर्श लिन आग्रह गरेका छन्।
१. आफूप्रति दयालु बन्नुहोस्: जीवन व्यस्त बन्दै जाँदा र तनाव बढ्दै जाँदा कुनै कोठामा किन प्रवेश गरेको बिर्सिनु, बोल्दै गर्दा कुराको सिलसिला हराउनु वा सामान्य काममा पनि ध्यान केन्द्रित गर्न कठिन हुनु असामान्य कुरा होइन। विशेषगरी सप्ताहन्तपछि फेरि काम वा अध्ययनमा फर्कँदा यस्तो अनुभव धेरैलाई हुन सक्छ। यस्तो मानसिक अस्पष्टताको अवस्थालाई ‘ब्रेन फग’ (मस्तिष्कीय धुम्मपन) भनिन्छ। यो आफैंमा कुनै रोग होइन, तर ध्यान केन्द्रित गर्न कठिन हुने, बिर्सने बानी बढ्ने र सोच्ने गति सुस्त हुनेजस्ता मानसिक लक्षणहरूको समूह हो। यसका सामान्य कारणहरूमा रजोनिवृत्ति (मेनोपज), रजोनिवृत्तिअघिको अवस्था (पेरिमेनोपज), लामो समयसम्म रहने कोभिड (लङ कोभिड) तथा ल्युपसजस्ता अटोइम्युन रोगहरू पर्छन्। यद्यपि, एकैपटक धेरै जिम्मेवारी वा धेरै कुरा मनमा खेलिरहेका बेला पनि ब्रेन फग हुन सक्छ।
२. नियमित दिनचर्या अपनाउनुहोस्: दैनिक कामको निश्चित तालिका बनाउँदा अनावश्यक निर्णय गर्नुपर्ने अवस्था कम हुन्छ र मस्तिष्कमा पर्ने दबाब पनि घट्छ। बिहान र बेलुकाको नियमित दिनचर्या बनाउने, अघिल्लो रात नै लुगा तयार राख्ने वा बिहानको खाजाको तयारी गर्ने जस्ता साना बानीले मानसिक थकान कम गर्न मद्दत गर्छ।
३. कामको बीचमा विश्राम लिनुहोस्: लगातार बैठक, काम वा अन्य जिम्मेवारीमा व्यस्त हुँदा मस्तिष्कले आराम गर्ने अवसर पाउँदैन, जसले ब्रेन फगको जोखिम बढाउँछ। त्यसैले हरेक कामपछि ५–१० मिनेटको छोटो विश्राम लिनुहोस्। केहीबेर हिँड्नु, पानी पिउनु, स्ट्रेचिङ गर्नु वा शान्त भएर बस्नुले मस्तिष्कलाई पुनः ताजा बनाउँछ।
४. क्यालेन्डर र रिमाइन्डर प्रयोग गर्नुहोस्: सबै काम र भेटघाट सम्झेर राख्ने प्रयास गर्दा मानसिक बोझ बढ्न सक्छ। त्यसैले मोबाइलको क्यालेन्डर वा रिमाइन्डर प्रयोग गरेर आवश्यक कामको समय मिलाउनुहोस्। यसले महत्त्वपूर्ण काम नबिर्सिन र मस्तिष्कमा अनावश्यक दबाब कम गर्न सहयोग गर्छ।