काठमाडौँ । कार्यालयमा सकारात्मक वातावरण र काममा सफलता चाहनेहरूको संख्या बढ्दो छ। यही सन्दर्भमा धेरैले कार्यालय क्याबिन सजाउँदा वास्तुशास्त्रका सिद्धान्त अपनाउने गरेका छन्। वास्तुका अनुसार क्याबिनको दिशा, बस्ने तरिका र राखिने सामग्रीले व्यक्तिको मनोबल र कार्यक्षमतामा प्रभाव पार्ने विश्वास गरिन्छ। वास्तुशास्त्रले कार्यालयमा काम गर्दा उत्तर वा पूर्व दिशातर्फ फर्केर बस्न उपयुक्त मान्छ। यसले एकाग्रता बढ्ने र निर्णय क्षमता सुदृढ हुने जनविश्वास छ।
साथै, क्याबिन सफा, व्यवस्थित र खुला राख्नु अत्यावश्यक मानिन्छ। क्याबिनमा राख्न उपयुक्त सामग्रीहरु
हरियो बोटबिरुवाः मनी प्लान्टजस्ता साना हरिया बिरुवा उत्तर–पूर्व कुनामा राख्दा सकारात्मक ऊर्जा प्रवाह हुने विश्वास गरिन्छ।
प्रेरणादायी तस्बिर वा सन्देशः आफूलाई प्रेरणा दिने उद्धरण वा तस्वीर क्याबिनमा राख्दा आत्मविश्वास र उत्साह बढ्ने बताइन्छ।
पानीको तत्वः सानो पानीको बाउल वा फाउन्टेन उत्तर दिशातर्फ राख्दा आर्थिक उन्नतिमा सहयोग पुग्ने विश्वास गरिन्छ।
क्रिस्टल वा धातुका सजावट सामग्रीः ऊर्जा सन्तुलनका लागि क्रिस्टल बल वा सानो धातुको शोपीस राख्न सकिने सुझाव दिइन्छ।
के कुरामा ध्यान दिने त ?
टेबलमा अनावश्यक कागजपत्र थुपार्नु हुँदैन। पछाडि मजबुत भित्तो हुनु राम्रो मानिन्छ भने टुटफुट भएका सामग्री क्याबिनमा नराख्न सुझाव दिइन्छ। यद्यपि, यी सबै परम्परागत मान्यतामा आधारित सुझाव हुन्। आधुनिक कार्यस्थलमा मुख्य कुरा सफा, व्यवस्थित र सहज वातावरण बनाउनु नै हो, जसले काममा सकारात्मक प्रभाव पार्ने निश्चित छ।