काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी मानिने एचपीभी खोप अभियान आजदेखि देशभर सञ्चालन हुँदैछ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आजदेखि आउँदो फागुन १५ गतेसम्म ह्युमन प्यापिलोमा भाइरसविरुद्धको एचपीभी खोप लगाइनेछ ।
अभियानमा कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई खोप दिइने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिइन् ।
यस्तै, गएको वर्षको एचपीभी खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि यो खोप दिइने व्यवस्था गरिएको छ ।
डा. गौतमका अनुसार अहिलेको खोप अभियानमा झन्डै साढे ३ लाख बालिकालाई खोप लगाउने लक्ष्य छ । खोप बिभिन्न पालिकामा फरकफरक दिनमा हुने भएकाले नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा बुझेर खोप लगाउन केन्द्रको आग्रह छ ।