काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गर्ने प्रयास भइरहेकाले केही दिनभित्रै सकारात्मक परिणाम देखिने बताएकी छन् ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको ३० औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गौतमले अहिलेकै स्वरूपमा बीमा कार्यक्रम अघि बढ्न नसक्ने भएकाले यसलाई व्यवस्थित गर्ने प्रयास भएको र केही दिनभित्रै सकारात्मक परिणाम देखिने बताएकी हुन् ।
उनले निःशुल्क पाइने उपचारमा समेत बिरामीलाई बीमामार्फत पैसा तिर्न बाध्य पार्दा स्रोतहरूको दुरुपयोग हुने सम्भावना पनि धेरै देखिएको धारणा राखिन् । मन्त्री गौतमले स्वास्थ्य कर कोषमा प्राप्त हुने रकम संविधानले नै किटेको अवस्थामा उक्त रकम समेत निकै न्यून मात्रामा प्राप्त भइरहेको गुनासो गरिन् ।
कतिपय अवस्थामा औषधीको मूल्य पनि बीमातर्फ एकदम महँगो रेटमा राख्ने गरेकाले पनि धेरै बोझ पर्न गएकाले सुधारका कामहरू भइरहेको उनको भनाइ छ । मन्त्री गौतमले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक समस्या हुन नदिने र मन्त्रालयका तर्फबाट हुनुपर्ने भुक्तानी नरोकिने स्पष्ट पारिन् ।