काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य उपकरण खरिद प्रक्रियामा अनियमितता भएको आरोपमा तत्कालीन उपकुलपतिसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार प्रतिष्ठानमा सिटी स्क्यान मेसिन खरिद गर्दा ७ करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ बराबरको भ्रष्टाचार भएको पुष्टि भएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
मुद्दा दायर हुनेमा तत्कालीन उपकुलपति प्राध्यापक डा. संगीता भण्डारी, तत्कालीन कामु रजिस्ट्रार कैलाशप्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभाग प्रमुख डा. बोम विसी, बोयोमेडिकल इन्जिनियर शरद भण्डारी र आशुतोष भण्डारी, कन्सल्टेन्ट बोयोमेडिकल इन्जिनियर अमितकुमार चौधरी तथा लेक्चरर डा. श्रीसिया पोखरेल रहेका छन्।
त्यस्तै, तत्कालीन शाखा अधिकृत झन्कार लामिछाने, लीलाकुमारी देवकोटा र मेघबहादुर अधिकारी, आईटी अफिसर हिरालाल भण्डारी, लेखा अधिकृत राजीव बस्नेत, फार्मेसी सुपरभाइजर कृष्णप्रसाद जोशी, स्टाफ नर्स विन्दु पौडेल, फिजियोथेरापिस्ट पूजा ठाकुर, कम्प्युटर असिस्टेन्ट सतिशबहादुर शाह तथा हिमालयन मेडिटेक प्रालि र कम्पनीका प्रमुख अमर श्रेष्ठ र सन्जु राजकर्णिकारविरुद्ध पनि मुद्दा दायर गरिएको छ।
अख्तियारले उनीहरूमाथि जनही ७ करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ बिगो दाबी गरेको जनाएको छ।