पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन संघीय सरकारको बजेट मात्र पर्याप्त नहुने बताउँदै प्रदेश र स्थानीय तहले पनि लगानी गर्नुपर्ने आवश्यकता औंल्याएकी छन्।
प्रदेश अस्पताल पर्वतको निरीक्षणपछि प्रतिक्रिया दिँदै मन्त्री गौतमले स्वास्थ्य बीमाका लागि सबै तहका सरकारले साझा रूपमा जिम्मेवारी लिनुपर्ने बताइन्। संघीय सरकारको स्रोत सीमित भएकाले प्रदेश सरकार र स्थानीय तहबाट समेत बजेट विनियोजन हुनुपर्ने उनको भनाइ थियो।
उनले धेरै अस्पतालले स्वास्थ्य बीमाको भुक्तानी नपाएको गुनासो आएको उल्लेख गर्दै बजेट अभावका कारण समयमै रकम उपलब्ध गराउन नसकिएको जानकारी दिइन्। अर्थ मन्त्रालयसँग बजेट माग गर्दा स्रोत नभएको जवाफ आएपछि स्वास्थ्य मन्त्रालयको बजेटबाट करिब एक अर्ब रुपैयाँ बीमा बोर्डलाई भुक्तानी गरिएको उनले बताइन्।
मन्त्री गौतमका अनुसार विभिन्न प्रदेशमा भएका छलफलका क्रममा प्रदेश सरकार र स्थानीय तहका जनप्रतिनिधिलाई आगामी बजेटमा स्वास्थ्य बीमाका लागि छुट्टै रकम राख्न आग्रह गरिएको छ।
उनले स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुँचमा पुर्याउन सरकार निरन्तर प्रयासरत रहेको बताइन्। सरकारी स्वास्थ्य संस्थामा औषधि, जनशक्ति र उपकरणको पर्याप्त व्यवस्था हुनुपर्ने उल्लेख गर्दै आधारभूत स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक नीति तथा योजना निर्माण गर्नुपर्नेमा उनले जोड दिइन्।
निर्वाचन आचारसंहिता लागू भइसकेकाले केही कार्यक्रम अघि बढाउन कठिनाइ भएको पनि उनले जानकारी दिइन्।
गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा घाइते भएका युवाहरूको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने उनले स्पष्ट पारिन्। उपचारमा समस्या नभए पनि अङ्ग प्रत्यारोपण आवश्यक पर्ने व्यक्तिहरूको व्यवस्थापनका लागि सरकार प्रयासरत रहेको उनको भनाइ छ। साथै सहिद परिवारले उठाएका विभिन्न मागबारे पनि आवश्यक छलफल भइरहेको उनले बताइन्।