काठमाडौं । भारतको पश्चिम बंगालमा देखिएको निपाह भाइरस संक्रमण नेपाल भित्रन नदिन यहाँ उच्च सतर्कता अपनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सीमा जोडिएका नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिको परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन् । “विशेष गरी कोसी प्रदेशको सीमानाकामा हामीले सतर्कता अपनाएका छौँ । अरू सीमानाकामा नेपाल भित्रिने व्यक्तिको स्वास्थ्य परीक्षण गर्न भनेका छौँ,” उनले भनेका छन् ।
कसरी सर्छ ?
यो पशुबाट मानिसमा सर्ने एक गम्भीर प्रकृतिको रोग लाग्ने भाइरसको संक्रमण हो । यो भाइरस प्राकृतिक रूपमा फ्रुट ब्याट भनिने प्रजातिको चमेरोमा पाइने मन्त्रालयले जनाएको छ । “निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा पनि सर्दछ,” मन्त्रालयले भनेको छ ।
मन्त्रालयका अनुसार, संक्रमित चमेरोबाट सुँगुर, गाईगोरुजस्ता जनावर हुँदै यो भाइरस मानिसमा सर्न सक्छ । संक्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा पनि यो भाइरस सर्ने जोखिम हुन्छ । संक्रमित व्यक्तिको रगत, दिसापिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि यो भाइरस सर्ने मन्त्रालयले जनाएको छ ।
लक्षण
निपाह भाइरसको संक्रमण भएमा ज्वरो आउने, रिँगटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने, टन्सिलाइटिस् जस्ता लक्षण देखिन्छ । मन्त्रालयका प्रवक्ता बुढाथोकीले निपाह भाइरसको संक्रमण भएका व्यक्तिको समयमै उपचार नगरिएको खण्डमा मृत्यु समेत हुन सक्ने बताएका छन् । निपाह भाइरस संक्रमणको मृत्युदर ३० देखि ३३ प्रतिशत रहेको उनले जानकारी दिएका छन् ।
रोकथाम कसरी गर्ने ?
निपाह भाइरसको रोकथामका निम्ति मन्त्रालयले विभिन्न सुझाव दिएको छ ।
१. फलफूल राम्रोसँग पखालेर मात्र खाने
२. तरकारी सकेसम्म पकाएर खाने
३. गाईवस्तुको गोठ र फार्म सफा राख्ने
४. मासु काट्दा र पकाउँदा पन्जा र मास्कको प्रयोग गर्ने
५. सकेसम्म पानी उमालेर मात्र पिउने
६. बेलाबेलामा साबुनपानीले हात धुने
७. भीडभाडमा जाँदा मास्क लगाउने ।