काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले वित्तीय असन्तुलन र समयमै दाबी भुक्तानी हुन नसक्दा स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन चुनौती थपिएको बताएकी छन्। मन्त्रालय सम्हालेको तीन महिना पुगेको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले बीमा क्षेत्रमा देखिएका गम्भीर समस्याहरूबारे स्पष्ट पारेकी हुन्।
मन्त्री गौतमका अनुसार स्वास्थ्य बीमामा उच्च स्वास्थ्य जोखिम भएका व्यक्तिहरूको मात्र बढी सहभागिता हुनु, अनावश्यक रूपमा सेवा उपभोग गरिनु र दाबी व्यवस्थापनमा कमजोरी देखिनुले यो प्रणालीलाई सोचेजस्तो सफल बनाउन सकिएको छैन। पदभार ग्रहण गरेकै दिनदेखि बीमा सुधारलाई प्राथमिकतामा राखे पनि विभिन्न प्राविधिक र व्यवस्थापकीय झमेलाले काममा बाधा पुगेको उनले उल्लेख गरिन्।
यद्यपि, स्वास्थ्य बीमा बोर्डको ओएनएम सर्वेक्षण प्रतिवेदन तयार भई स्वीकृतिको अन्तिम प्रक्रियामा पुगेको जानकारी उनले दिएकी छन्। गुणस्तरीय स्वास्थ्य सेवाका लागि दक्ष जनशक्ति उपलब्ध भए पनि भौतिक पूर्वाधारको अभाव र पुरानो संरचनाका कारण सुधारका कामहरू कठिन भएको मन्त्री गौतमको भनाइ छ।