काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोला पुल नजिक बोलेरो पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटनामा बोलेरो पिकअपका सहचालक सर्लाही वरहथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको उपचारका क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब १ बजे सर्लाहीबाट हेटौंडा, भीमफेदी हुँदै कुलेखानीको बाटो भएर काठमाडौं जाँदै गरेको म.प्र. ०३–००१ च ६७२१ नम्बरको कुखुरा बोकेको बोलेरो पिकअप ब्रेक फेल भई सडकबाट करिब ७ मिटर तल खोल्सामा खसेको हो। दुर्घटनामा सहचालक मण्डलसहित सर्लाही वरहथवा नगरपालिका–१ कै १६ वर्षीय छोटे पासवान र २५ वर्षीय चालक रामवली साह घाइते भएका थिए। घाइते तीनै जनालाई उपचारका लागि काठमाडौं मेडिकल कलेज लगिएकोमा सहचालक रोहन मण्डलको बिहीबार बिहानै उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। हाल घाइते पासवान र चालक साहको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनाका बेला बोलेरो पिकअपमा रहेका करिब ५ सय कुखुरामध्ये ३ सय वटा मरेको प्रहरीले जानकारी दिएको छ।