काठमाडौँ । इजिप्टको राजधानी कायरोमा इन्धन बोकेको ट्याङ्कर दुर्घटनापछि भएको भीषण आगलागीमा परी ३१ जनाको ज्यान गएको छ भने २१ जना घाइते भएका छन् ।
बुधबार साँझ कायरोको उत्तरी क्षेत्रमा पर्ने वाराकस्थित रिङरोडमा उक्त दुर्घटना भएको हो । दुर्घटनापछि आगो तीव्र रूपमा फैलिँदा आसपासका सवारीसाधनसमेत जलेका थिए । आगलागीमा परी घाइते भएका तथा धुवाँका कारण श्वासप्रश्वासमा समस्या भएका व्यक्तिहरूलाई उद्धार गरी नजिकका अस्पतालमा पुर्याइएको थियो ।
सरकारी सञ्चारमाध्यमका अनुसार ट्याङ्कर पल्टिएपछि त्यसमा रहेको पेट्रोल सडकमा पोखिएको र त्यही क्रममा आगो सल्किएको थियो । इजिप्टको सरकारी पत्रिका अल–अहरामले अनुसन्धानसँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै दुर्घटनाको कारणबारे थप विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार निजी ठेकेदारको ट्याङ्कर राजमार्गमा गुडिरहेका बेला अगाडि अचानक उच्च भोल्टेजको विद्युत् तार खसेको थियो । त्यसपछि चालकले सवारी नियन्त्रण गर्न नसक्दा ट्याङ्कर सडकको बीचमा रहेको डिभाइडर पार गरेर पल्टिएको र आगलागी भएको जनाइएको छ ।
इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार घाइतेको उद्धार तथा उपचारका लागि ३९ वटा एम्बुलेन्स परिचालन गरिएको थियो । आगलागीपछि सडकमा जलेका सवारीसाधनका अवशेष हटाउन उद्धार टोलीले बुलडोजरसमेत प्रयोग गरेको सरकारी प्रसारक संस्था एनएमएले जनाएको छ । अहिले दुर्घटनाग्रस्त क्षेत्रको सरसफाइ सम्पन्न भइसकेको र राजमार्गमा यातायात सेवा पुनः सञ्चालनमा आएको जनाइएको छ ।