काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री तथा सांसद निशा डाँगी र पार्टीका संस्थापक महामन्त्री मुकुल ढकाल आज विवाह बन्धनमा बाँधिने भएका छन् ।
उनीहरूको विवाहका लागि विराटनगरस्थित ढकालको निवासबाट जन्ती निस्कने तयारी गरिएको छ । जन्तीमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीभाइ सहभागी हुने बताइएको छ । रास्वपा सभापति रवि लामिछाने भने पत्नी निकिता पौडेलसहित चार जनाको टोली लिएर झापाको भद्रपुरस्थित निशाको निवास पुग्ने कार्यक्रम रहेको छ ।
राजनीतिक सहकार्यका क्रममा नजिकिएका निशा र मुकुलबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको बताइन्छ । निशालाई राजनीतिमा अघि बढाउन मुकुलले भूमिका खेलेका थिए । पछि मुकुल पार्टीबाट निष्कासित भएपछि निशासँगको उनको सम्बन्धलाई लिएर पनि विभिन्न चर्चा भएका थिए । यद्यपि उनीहरूले आफ्नो व्यक्तिगत सम्बन्धलाई निरन्तरता दिँदै विवाह गर्ने निर्णय गरेका हुन् । यसैबीच, विवाहको खबरसँगै रास्वपाभित्र मुकुल ढकालको पुनरागमनको विषयले पनि चर्चा पाउन थालेको छ । पार्टीका केही नेताहरूले उनलाई पुनः पार्टीमा ल्याउने विषयमा छलफल भइरहेको बताएका छन् । एक नेताका अनुसार पार्टीप्रति मुकुलको लगाव र सक्रियतालाई ध्यानमा राख्दै उनलाई फर्काउन पहल भइरहेको छ ।