काठमाडौं ।पूर्वमन्त्री तथा नेकपाका नेता मातृका प्रसाद यादवका नाति सन्तुलन कुमार यादव ठगीसम्बन्धी आरोपमा पक्राउ परेका छन् ।
करिब २५ वर्षीय उनलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।प्रहरीका अनुसार मिर्चैया नगरपालिका–६ का यादवले सोही ठाउँका गुलाम गौसलाई आमाको बिरामी अवस्थाबारे जानकारी गराउँदै पटक–पटक रकम मागेको आरोप छ । गौसले दिएको जाहेरीअनुसार यादवले खल्ती एप, बैंकमार्फत रकम पठाउन लगाएर तथा नगद गरी कुल १३ लाख ७० हजार ७ सय ५० रुपैयाँ लिएको बताइएको छ ।
पीडितले पटक–पटक रकम फिर्ता माग्दा यादवले पछि दिने आश्वासन दिए पनि रकम नफर्काएको उजुरीमा उल्लेख छ । उनीमाथि अन्य व्यक्तिहरूसँग पनि ठूलो रकम लिएको र ठगी गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार यादवलाई केही दिनअघि नै मिर्चैया प्रहरीले पक्राउ गरेको थियो । पक्राउसम्बन्धी विवरण भने आफूलाई पछि मात्रै प्राप्त भएको उनले बताएका छन् ।
प्रहरीले यादवविरुद्ध ठगीसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ । यस घटनामा अन्य पीडितसमेत हुन सक्ने भएकाले प्रहरीले अनुसन्धान अघि बढाएको छ ।यसैबीच, पक्राउबारे सार्वजनिक गर्न राजनीतिक दबाब परेको र पूर्वमन्त्री यादवले नातिलाई छुटाउन दबाब दिइरहेको स्रोतको दाबी छ । तर, यी दाबीबारे पूर्वमन्त्री यादवको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन ।