काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणले वितरण प्रणाली भूमिगत गर्ने कामलाई निरन्तरता दिँदै काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।
प्राधिकरणका अनुसार कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा २०८३ मङ्सिर ३ देखि १४ गतेसम्म फरक–फरक दिन विद्युत् सेवा अवरुद्ध हुनेछ । बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् कटौती गरेर भूमिगत लाइन विस्तारको काम गरिने जनाइएको छ ।निर्धारित तालिकाअनुसार मङ्सिर ३, ६ र ८ गते बल्खु खोला पुल तथा नैकाप क्षेत्रमा बत्ती जानेछ । मङ्सिर ४ गते लुम्बिनीदेखि शिफल ग्राउन्डसम्म र मङ्सिर ५ गते स्युचाटार पुल आसपास विद्युत् आपूर्ति रोकिनेछ ।
त्यस्तै, मङ्सिर ७ गते कोटेश्वर–इमाडोल फिडरअन्तर्गत ईडीटीआर ९ र ९ए क्षेत्रमा तथा मङ्सिर ९ गते ईडीटीआर २६ए र ४ क्षेत्रमा विद्युत् सेवा बन्द हुनेछ । मङ्सिर १२ गते कोटेश्वर फिडरअन्तर्गत ईडीटीआर ८ए र ८ क्षेत्रमा पनि आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।यसैगरी मङ्सिर १० र १४ गते शिफल ग्राउन्डदेखि कालोपुलसम्म, मङ्सिर ११ गते सतुङ्गलदेखि ढुङ्गे अड्डासम्म र मङ्सिर १३ गते बलम्बुदेखि सगरमाथा स्याटेलाइट स्टेसनसम्म विद्युत् सेवा बन्द रहनेछ ।
प्राधिकरणले मौसम प्रतिकूल भएमा निर्धारित कार्यतालिका परिवर्तन वा रद्द हुन सक्ने जनाएको छ । विद्युत् कटौतीका कारण उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।