काठमाडौं ।ल्हेन्दे भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट क्षति पुगेका क्षेत्रको पुनर्निर्माण तथा प्रभावित नागरिकको पुनःस्थापनाका लागि बागमती प्रदेश सरकारले ६ अर्ब रुपैयाँ बजेट व्यवस्थापन गर्ने भएको छ ।
चालु आर्थिक वर्ष २०८३ र ८४ को बजेट पुनःप्राथिकीकरण गरेर उक्त रकम जुटाउने प्रदेश सरकारको तयारी छ । यसका लागि कम प्राथमिकतामा रहेका र तत्काल दायित्व सिर्जना नभएका विकास कार्यक्रमको बजेट कटौती गरिनेछ ।प्रदेश सुशासन केन्द्र, जावलाखेलमा बसेको समन्वय बैठकले पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ६ अर्ब रुपैयाँ जुटाउने निर्णय गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय तथा खानेपानी, ऊर्जा र सिँचाइ मन्त्रालयको बजेटमा २० प्रतिशत कटौती गर्ने तयारी छ । त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अन्य छ मन्त्रालयका कार्यक्रमबाट १५ प्रतिशत बजेट घटाइनेछ ।
मन्त्रालयका प्रवक्ता नुमानन्द अधिकारीका अनुसार कृषि र स्वास्थ्य मन्त्रालयबाहेक अन्य मन्त्रालयले बजेट कटौती गर्न सकिने कार्यक्रमको विवरण पठाइसकेका छन् । स्रोत सहमति भइसकेका आयोजना र चालु खर्चमा भने कटौती नगरिने उनले स्पष्ट पारेका छन् ।प्रदेश सरकारले जुटाउन लागेको रकम सडक, पुल र अन्य भौतिक संरचना निर्माणमा मात्रै खर्च गर्ने छैन । बाढीबाट प्रभावित नागरिकको आवास, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि तथा आर्थिक गतिविधि पुनःस्थापित गर्ने योजनासमेत बजेटमा समेटिनेछ ।
मुख्यमन्त्री किरण थापा मगरले स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा पुनर्निर्माणका योजना छनोट गरिने बताएका छन् । यसका लागि मङ्सिर १३ र १४ गते रसुवा, नुवाकोट, धादिङ र चितवन पुगेर प्रदेशसभा सदस्य, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गरी सुझाव संकलन गर्ने सरकारको तयारी छ ।बजेट खर्च गर्दा एउटै योजनामा दोहोरो लगानी हुन नदिन सम्बन्धित निकायबीच समन्वय गरिनेछ । स्थानीय तह र वडाबाट प्राप्त सिफारिसका आधारमा आवश्यक आयोजनाको सूची तयार गरी सम्बन्धित मन्त्रालयमार्फत कार्यान्वयन गरिने जनाइएको छ ।
त्यस्तै, भविष्यमा हुन सक्ने विपद्को जोखिम घटाउन जोखिमयुक्त बस्तीको पहिचान तथा स्थानान्तरण, जग्गा व्यवस्थापन, प्रभावित नागरिकको जीविकोपार्जन र पूर्वाधार संरक्षणलाई पनि प्राथमिकतामा राखिनेछ । दीर्घकालीन पुनर्निर्माण र पुनःस्थापनाका लागि गुरुयोजना तयार गर्ने प्रदेश सरकारको योजना छ ।