काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वमा रुस र चीनको भूमिका सीमित रहेको बताएका छन् ।
इरानलाई यी दुई देशले कृत्रिम बुद्धिमत्ता एआई सम्बन्धी सूचना तथा प्रविधि उपलब्ध गराएको चर्चा भइरहेका बेला ट्रम्पले उनीहरूको संलग्नतालाई खासै ठूलो विषय नभएको टिप्पणी गरेका हुन् ।फ्लोरिडास्थित आफ्नो मार–ए–लागो रिसोर्टमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा इरानसँगको द्वन्द्वबारे छलफल भएको जानकारी दिए ।
उनले चिनियाँ राष्ट्रपति सीसँगको भेट सकारात्मक रहेको उल्लेख गर्दै रुस र चीन इरानसँग निकै कम मात्र जोडिएको आफ्नो बुझाइ रहेको बताए ।ट्रम्पका अनुसार कुनै देशले सामान्य सूचना आदानप्रदान गर्नु र सैन्य आक्रमणमा प्रत्यक्ष सहभागी हुनु फरक विषय हुन् । उनले रुस र चीनले अमेरिकाविरुद्ध जासुसी गरिरहेको हुन सक्ने सम्भावना स्वीकार गरे पनि अमेरिका पनि उनीहरूमाथि निगरानी राख्ने गरेको बताए ।
रुसले इरानसँग एआईसम्बन्धी जानकारी साटासाट गरेको विषयमा सोधिएको प्रश्नमा ट्रम्पले त्यसबाट इरानले ठूलो मात्रामा सूचना प्राप्त गरेको आफूलाई नलागेको प्रतिक्रिया दिए ।उनले रुस र चीन दुवै इरानसँगको द्वन्द्व अन्त्य होस् भन्ने पक्षमा रहेको दाबी गर्दै यस विषयमा आफूलाई सहयोग गरिरहेको पनि बताए ।मध्यपूर्वमा जारी तनावका बीच इरानलाई रुस, चीन र उत्तर कोरियाले प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गरिरहेको चर्चा हुँदै आएको छ । यद्यपि, यी देशहरूको वास्तविक संलग्नता र सहयोगको स्तरबारे विभिन्न दाबीहरू सार्वजनिक भइरहेका छन् ।