काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम चरम आर्थिक संकटमा परेको छ । बीमा बोर्डले भुक्तानी नदिएपछि ठूला अस्पतालहरू स्वास्थ्य बीमा कार्यक्रम नै बन्द गर्न थलेका छन् ।
पछिल्लो समय शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थगित नै गरेका छन् । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले स्वास्थ्य बीमा बोर्डबाट शोधभर्ना बापत केन्द्रले पाउनुपर्ने रकम उपलब्ध नभएकाले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न कठिनाइ भएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका प्रशासनको अनुसार (१ माघ) आजदेखि अर्को सूचना नआएसम्म बीमा कार्यक्रम बन्द रहनेछ ।
यसअघि त्रिवि शिक्षण अस्पतालले पनि स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने निर्णय गरिसकेकाे छ । यसरी स्वास्थ्य बीमा कार्यक्रम बन्द भईरहँदा बिमित नागरिक सेवाबाट वञ्चित हुने भन्दै चिन्तित हुन थालेका छन् । अझ स्वास्थ्य बीमा कार्यक्रम नै अलपत्र पर्ने जोखिम समेत बढेको छ ।