काठमाडौँ । भारतको पश्चिम बङ्गालमा निपाह भाइरस देखिएपछि नेपालको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सतर्कता अपनाउन निर्देशन दिएको छ । गएको सोमवार पश्चिम बङ्गालमा रहेको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजको ल्याबमा जाँच गर्दा निपाह भाइरसका कम्तीमा दुई शङ्कास्पद घटना पहिचान भएका थिए ।
यो भाइरस अन्य श्वासप्रश्वाससम्बन्धी भाइरसको दाँजोमा धेरै नै प्राणघातक रहेको विज्ञहरूले बताएका छन् । चमेरो र सुँगुरबाट सर्ने यो भाइरस नेपालमा पनि फैलने जोखिम रहेकोले सर्तकता अपनाउन भनिएको छ ।
यो रोग जनावरमार्फत मानिसमा सर्ने तथा सङ्क्रमित जनावरको मासु खानाले पनि रोग फैलन्छ । सन् १९९९ मा पहिलो पटक मलेशियामा निपाह भाइरसको पहिचान भएको थियो । मलेशिया र सिङ्गापुरमा सङ्क्रमित सुगुँरसँगको सम्पर्कमा पुगेका मानिसहरूमा श्वासप्रश्वास र मतिष्क सुन्निने समस्या देखिएको थियो ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अहिलेसम्म झन्डै तीन सय जनामा यो रोग देखिएको छ । त्यसमध्ये एक सय जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म निपाह भाइरसको उपचारको व्यवस्था छैन । स्वास्थ्यकर्मीहरूले लक्षण हेरेर यसको उपचार गर्ने गरेका छन् । ४ देखि १४ दिनसम्मको अवधिमा यो भाइरसले सङ्क्रमित गर्छ । यस क्रममा ज्वरो आउने , टाउको दुखाइ, श्वासप्रश्वास तथा स्नायुसम्बन्धी समस्या देखिन सक्छ ।