काठमाडौँ । विद्यार्थीको शैक्षिक सफलता केवल परिश्रममा मात्र निर्भर हुँदैन, अध्ययन गर्ने वातावरणले पनि महत्वपूर्ण भूमिका खेल्ने वास्तु शास्त्रले बताउँछ। वास्तु शास्त्रअनुसार बनाइएको अध्ययन कक्षले एकाग्रता बढाउनुका साथै स्मरणशक्ति र आत्मविश्वासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ।
कुन दिशामा हुनुपर्छ अध्ययन कक्षः वास्तु शास्त्रअनुसार घरको उत्तर–पूर्व (ईशान कोण), पूर्व वा उत्तर दिशामा अध्ययन कक्ष हुनु उत्तम मानिन्छ। यी दिशालाई ज्ञान, सकारात्मक ऊर्जा र बौद्धिक विकाससँग जोडेर हेरिन्छ। दक्षिण वा दक्षिण–पश्चिम दिशामा अध्ययन कक्ष भएमा ध्यान भंग हुने सम्भावना बढ्ने बताइन्छ।
पढ्दा कुन दिशातर्फ फर्केर बस्नेः अध्ययन गर्दा विद्यार्थीले पूर्व वा उत्तर दिशातर्फ मुख फर्काएर बस्नुपर्छ। यसो गर्दा एकाग्रता बढ्ने, सोच्ने क्षमता बलियो हुने र निर्णय क्षमतामा सुधार आउने वास्तु शास्त्रको मान्यता छ।
कोठाको संरचना कस्तो हुनुपर्छः अध्ययन कक्ष सफा, उज्यालो र हावापानी राम्रो हुने हुनुपर्छ। कोठामा अनावश्यक सामान नराख्नु उपयुक्त मानिन्छ। अध्ययन टेबल चौकोर वा आयताकार हुनुपर्छ भने भित्तामा हल्का रङ–जस्तै सेतो, हल्का पहेंलो वा हल्का हरियो–प्रयोग गर्नु सकारात्मक मानिन्छ।
के राख्न उपयुत्त हुन्छः अध्ययन कक्षमा किताब, कपी, पढाइसँग सम्बन्धित सामग्री मात्र राख्नु राम्रो मानिन्छ। पढ्ने टेबलमाथि अव्यवस्थित सामान, मोबाइल फोन, टेलिभिजन वा खेलौनाजस्ता वस्तु नराख्न सुझाव दिइन्छ। कम्प्युटर वा ल्यापटप प्रयोग गर्दा उत्तर वा पूर्व दिशामा राख्नु उपयुक्त हुन्छ।
वास्तु मिलेको अध्ययन कक्षबाट हुने फाइदाहरू
- पढाइमा एकाग्रता बढाउने,
- स्मरणशक्ति तेज बनाउने,
- परीक्षा र प्रतिस्पर्धात्मक क्षेत्रमा सफलताको सम्भावना बढाउने,
- मानसिक तनाव घटाई आत्मविश्वास बढाउने फाइदा दिने विश्वास गरिन्छ।
विशेषज्ञहरूका अनुसार वास्तु शास्त्रअनुसारको अध्ययन कक्षले विद्यार्थीलाई अनुशासित, केन्द्रित र सकारात्मक बनाउँछ। आधुनिक शिक्षासँगै यदि अध्ययन वातावरणमा वास्तुका आधारभूत नियमहरू अपनाउन सकियो भने, त्यसले दीर्घकालीन शैक्षिक सफलता हासिल गर्न सहयोग पुर्याउने देखिन्छ।