काठमाडौँ । मसँग एउटा सपना छ, भन्ने वाक्य केवल एउटा भावनात्मक अभिव्यक्ति मात्र होइन, यो विश्वभर समानता, न्याय र मानव अधिकारका लागि उठेको सशक्त आवाज हो। जातीय विभेद, अन्याय र दमनको अन्धकारबीच अहिंसाको बाटो देखाउने ऐतिहासिक व्यक्तित्व हुन्–मार्टिन लुथर किङ जुनियर।
बाल्यकालमै भोगेको विभेदको पीडाः मार्टिन लुथर किङ जुनियरको जन्म १९२९ साल १५ जनवरीमा अमेरिकाको जर्जिया राज्यस्थित अटलान्टा शहरमा भएको थियो। बाल्यकालमै उनले छालाको रंगका आधारमा गरिने विभेद नजिकबाट अनुभव गरे। गोरा र कालो नागरिकका लागि छुट्टाछुट्टै विद्यालय, बस, होटल र सार्वजनिक स्थान हुनु उनको बालमनमा गहिरो पीडा बन्यो। यही पीडाले उनलाई मौन बस्न दिएन, बरु अन्यायविरुद्ध बोल्न प्रेरित गर्यो।
धर्म, शिक्षा र सामाजिक आन्दोलनको संगमः पेशा अनुसार उनी पादरी थिए। तर उनको धर्म केवल चर्चभित्र सीमित रहेन। उनले धर्मलाई सामाजिक न्यायसँग जोड्दै समाज परिवर्तनको हतियार बनाए। उनको दृढ विश्वास थियो “जहाँ अन्याय हुन्छ, त्यहीँ न्याय खतरा पर्छ।” १९५५ सालमा रोजा पार्क्सले बसमा आफ्नो सिट नछोडेपछि सुरु भएको मोन्टगोमेरी बस बहिष्कार आन्दोलन ले किङलाई राष्ट्रिय नेताको रूपमा चिनायो। करिब ३८१ दिनसम्म चलेको यो अहिंसात्मक आन्दोलन सफल भयो र विभेदकारी बस नियम अन्त्य भयो।
जेल, धम्की र हिंसाबीच पनि नडगमगाउने नेतृत्वः मार्टिन लुथर किङको जीवन संघर्षले भरिएको थियो। उनलाई पटक–पटक जेल हालियो, ज्यान मार्ने धम्की आयो, घरमा बम आक्रमणसमेत गरियो। तर यति कठिन परिस्थितिमा पनि उनले हिंसाको बाटो कहिल्यै रोजेनन्। उनको जीवन दर्शन स्पष्ट थियो “घृणालाई घृणाले होइन, प्रेमले मात्र पराजित गर्न सकिन्छ।” “मसँग एउटा सपना छ” इतिहास बदल्ने भाषण उन्नाइस सय त्रिसट्ठी सालमा वासिङ्टन डिसीमा आयोजित ऐतिहासिक मार्चमा उनले दिएको “मसँग एउटा सपना छ” भाषणले विश्वको ध्यान खिच्यो। त्यो भाषणले केवल अमेरिकामा मात्र होइन, विश्वभर दमनमा परेका मानिसहरूलाई आशा र साहस दियो।
नोबेल शान्ति पुरस्कार र अमर विरासतः मानव अधिकार र अहिंसात्मक आन्दोलनमा पुर्याएको योगदानका लागि १९६४ सालमा मार्टिन लुथर किङ जुनियरलाई नोबेल शान्ति पुरस्कार प्रदान गरियो। उनी त्यो सम्मान प्राप्त गर्ने सबैभन्दा कान्छा व्यक्तिका रूपमा इतिहासमा दर्ज भए। यद्यपि १९८८ सालमा उनको हत्या भयो, तर उनका विचार, सपना र संघर्ष कहिल्यै मरेनन्। आज पनि समानता, सामाजिक न्याय र मानव अधिकारको चर्चा हुँदा उनको नाम अग्रपङ्क्तिमा लिइन्छ।
आजको पुस्ताका लागि सन्देशः मार्टिन लुथर किङ जुनियरको जीवनले आजको पुस्तालाई महत्वपूर्ण सन्देश दिन्छ । अन्यायविरुद्ध आवाज उठाउनु कर्तव्य हो,परिवर्तन हिंसाबाट होइन, धैर्य र प्रेमबाट सम्भव हुन्छ, एउटा व्यक्तिको सपना पनि विश्व परिवर्तन गर्ने शक्ति राख्छ, उनको जीवन संघर्ष अतीतको कथा मात्र होइन, वर्तमान र भविष्यका लागि मार्गदर्शन हो।