काठमाडौँ । महँगीकोविरुद्ध इरानमा सुरु भएको प्रदर्शनले उग्र रूप लिएको छ । विगत केही वर्षयताकै सबैभन्दा गम्भीर मानिएको यस सरकार विरोधी प्रदर्शनका क्रममा हालसम्म कम्तीमा ४५ जनाको मृत्यु भइसकेको छ ।
नर्वेस्थित 'इरान ह्युमन राइट्स' (आईएचआर)लाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले प्रदर्शनका क्रममा हालसम्म ४५ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा ८ जना बालबालिका रहेका छन् ।
पछिल्लो समय इरानमा दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको र बेरोजगारी बढेपछि नागरिकहरू सडकमा उत्रिएका हुन् । प्रदर्शनकारीहरूले आर्थिक सुधारसँगै राजनीतिक स्वतन्त्रताको समेत माग गरिरहेका छन् ।
बिहीबार अहिलेसम्मकै ठूलो प्रदर्शन भएपछि इरानी अधिकारीहरूले राजधानी तेहरानसहित देशका प्रमुख सहरहरूमा इन्टरनेट र टेलिफोन सेवा काटिदिएका छन् ।
अमिनीको मृत्युपछिकै ठूलो आन्दोलन सन् २०२२ मा २२ वर्षीया महसा अमिनीको हिरासतमा मृत्यु भएपछि इरानमा देशव्यापी आन्दोलन चर्किएको थियो । अहिले भइरहेको प्रदर्शनलाई त्यसपछिकै सबैभन्दा ठूलो र संगठित विद्रोहका रूपमा हेरिएको छ ।