काठमाडौँ । सिन्धुपाल्चोक, नेपाल हेल्थ न्युज – मेलम्चीमा आयोजित मोतियाविन्दु शल्यक्रिया शिविरपछि ८४ जनाले आँखाकोज्योति फिर्ता पाएका छन्। मेलम्ची नगरपालिका–११ मा रहेको तिलगङ्गा सामुदायिक आँखा केन्द्रको आयोजनामा बुधबार र बिहीबार दुई दिनसम्म यो शिविर सञ्चालन गरिएको थियो। तिलगङ्गा आँखा अस्पतालका विशेषज्ञ डा.रबा थापाको नेतृत्वमा शल्यक्रिया टोलीले बिरामीको उपचार गरेको थियो।
शिविरको मुख्य उद्देश्य पाँचपोखरी थाङपाल, इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाका विभिन्न स्थानमा आँखाको समस्या भएका बिरामीलाई समस्या मुक्त गर्नुथियो । यो शिविर तिलगङ्गा आँखा प्रतिष्ठान, भिजन हिमालय फाउण्डेशन, र मेलम्ची नगरपालिकासँगको समन्वयमा सफलतापूर्वक सम्पन्न भएको छ। शल्यक्रियापछि बिरामीहरूले खुसी व्यक्त गरेका छन् र स्वास्थ्यकर्मीहरूले यसको प्रभावकारीतालाई सकारात्मक रूपमा मूल्याङ्कन गरेका छन्।