काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ स्थित सिनामंगलको गैरीगाउँमा रहेको एक गोदाममा मंगलबार दिउँसो आगलागी भएको छ। प्रहरीका अनुसार आगलागी सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन गण नजिकै रहेको गोदाममा भएको हो।
प्रारम्भिक अनुमानअनुसार घरबाट आगो सल्किएर गोदाममा फैलिएको हुनसक्ने प्रहरीले जनाएको छ। आगो लागेको स्थानको छेउमै काठ तथा फर्निचरको गोदाम रहेकाले आगो फैलिन सक्ने जोखिम रहेको प्रहरीको भनाइ छ। आगलागीको जानकारी पाएलगत्तै प्रहरी र दमकलको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। हालसम्म मानवीय क्षतिको विवरण भने आएको छैन।