काठमाडौँ। रौतहटको बौधीमाई नगरपालिका–१ भुवाली चोक नजिक सोमबार बिहान भएको सवारी दुर्घटनामा एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
पिपरियाबाट अजगैबियतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ७६६ नम्बरको विद्युतीय गाडीले अनटेस्ट प्लेटिना मोटरसाइकललाई ठक्कर दिँदा बौधीमाई नगरपालिका–२ इनर्वा निवासी २३ वर्षीय दीपेन्द्र बैठा गम्भीर घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहान पौने ९ बजे दुर्घटना भएको हो।
घाइते बैठालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा बिहान सवा १० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। उनको शव हाल सोही अस्पतालमा राखिएको छ। दुर्घटनामा संलग्न विद्युतीय गाडीका चालक राजपुर नगरपालिका–५ निवासी २५ वर्षीय उपेन्द्र साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।