काठमाडौँ । जाडो मौसम सुरु भएसँगै खोकीको समस्या बढ्ने गरेको छ। चिकित्सकहरूका अनुसार चिसो हावा, धुलो–धुवाँ, संक्रमण र प्रतिरक्षा शक्ति कमजोर हुनु खोकी लाग्ने मुख्य कारण हुन्।
चिसो मौसममा नाक र घाँटी सुख्खा हुने हुँदा भाइरस तथा ब्याक्टेरिया सजिलै सक्रिय हुन्छन्। यसले रुघाखोकी, फ्लु, ब्रोंकाइटिस जस्ता संक्रमणको जोखिम बढाउँछ। त्यस्तै, चिसो हावाले दम अस्थमा भएका व्यक्तिमा खोकी र सास फेर्न गाह्रो हुने समस्या बढाउन सक्छ।
खोकीका कारण देखिने समस्याः लगातार खोकी लाग्दा घाँटी दुख्ने, छाती भारी हुने, टाउको दुख्ने, थकान महसुस हुने र राति निद्रा नलाग्ने समस्या देखिन सक्छ। लामो समयसम्म बेवास्ता गर्दा फोक्सोमा संक्रमण, दम बिग्रिने तथा बालबालिका र ज्येष्ठ नागरिकमा जटिलता बढ्ने चिकित्सकहरू बताउँछन्। जोखिम समूह बालबालिका, ज्येष्ठ नागरिक, धुम्रपान गर्ने व्यक्ति तथा दीर्घरोगीहरू चिसो मौसममा खोकीबाट बढी प्रभावित हुने समूहमा पर्छन्।
बच्ने उपायः चिसोबाट जोगिन न्यानो कपडा लगाउने, धुलो–धुवाँबाट टाढा रहने, तातो पानी पिउने, धुम्रपान नगर्ने र सन्तुलित आहार लिने चिकित्सकहरूको सुझाव छ। खोकी लामो समयसम्म निको नभए वा ज्वरो, सास फेर्न गाह्रो जस्ता लक्षण देखिए तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिन आग्रह गरिएको छ। चिसो मौसममा सामान्य सावधानी अपनाए खोकीजस्ता समस्या धेरै हदसम्म नियन्त्रण गर्न सकिने चिकित्सकहरूको भनाइ छ।