काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको अन्तर्राष्ट्रिय छवि सुदृढ बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्। शुक्रबार परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले छिमेकी तथा मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई सकारात्मक ढंगले अघि बढाउने बताएका हुन्।
उनले आफू राष्ट्रिय हितलाई केन्द्रमा राखेर मन्त्रिपरिषद्मा सहभागी भएको उल्लेख गर्दै आवश्यक परे मुलुक र मन्त्रालयको हितका लागि जिम्मेवारी लिन पछि नपर्ने स्पष्ट पारे। परराष्ट्रमन्त्री शर्माले आगामी निर्वाचनका क्रममा छिमेकी देशहरूसँग आवश्यक परे सही र पारदर्शी तरिकाले सहकार्य गरिने बताए। छिमेकी राष्ट्रहरू उदयीमान शक्ति भएकाले आपसी समझदारी र सहकार्यबाट अघि बढ्न सकिने उनको भनाइ छ। उनले मित्र राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै नेपालको छवि अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक बनाउने दिशामा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।