काठमाडौँ । जेनजी आन्दोलनको क्रममा डल्लुस्थित घरमा आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले दोषीहरूमाथि कडा कारबाहीको माग गरेकी छिन्। लामो उपचारपछि स्वास्थ्यलाभ गर्दै आएकी चित्रकारले घटनालाई हिटलरको ग्यास च्याम्बरसँग तुलना गर्दै भनेकी छिन्, “जेनजीको अवोध मुखुण्डो लगाएर देश विध्वंश गर्नेहरूलाई सरकारले छिटै पहिचान गरी सजाय दिनुपर्छ।”
सोमबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अवोधपना ओढेर देशलाई नष्ट गरिएको बताइन् र दोषीलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरिन्। पूर्वप्रधानमन्त्री खनालले पनि पीडा व्यक्त गर्दै उपचार प्रक्रिया अझै पूरा नभएको र घरसहित सबै क्षति भएकोले स्वास्थ्यलाभमा समस्या आएको बताए।
गत भदौमा जेनजी प्रदर्शनका क्रममा भएको आगजनीमा चित्रकार गम्भीर घाइते भएकी थिइन् र घर पूर्ण रूपमा नष्ट भएको थियो। उनको उपचार भारतमा भएको थियो र स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधा भई रहेको छ। चित्रकारको यो मागले जेनजी आन्दोलनको हिंसात्मक गतिविधि र दोषी कारबाहीको विषयलाई पुनः राजनीतिक तथा सामाजिक बहसको केन्द्रमा ल्याएको छ।