काठमाडौँ । विराटनगरस्थित नोबेल मेडिकल कलेजका एक जना इन्टर्न चिकित्सकको अस्पताल भवनबाट खसेर मृत्यु भएको छ। अस्पताल प्रशासनका अनुसार आइतबार बिहान करिब साढे ६ बजे मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट खसेर गम्भीर घाइते भएका डा.अमित यादवको उपचारका क्रममा मृत्यु भएको हो।
३४ वर्षीय यादव सप्तरीको राजविराज नगरपालिका–९, जगदरी निवासी हुन्। उनको टाउकोमा गम्भीर चोट लागेको अस्पताल प्रशासक दिपेश राईले जानकारी दिए। उनी नोबेल मेडिकल कलेजमै एमबीबीएस इन्टर्न चिकित्सकका रूपमा कार्यरत थिए। जिल्ला प्रहरी कार्यालय मोरङले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।