काठमाडौँ । पछिल्लो समय नेपालका अस्पताल तथा स्वास्थ्य संस्थामा पायल्सको समस्या लिएर आउने बिरामीको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। स्वास्थ्य विज्ञ तथा चिकित्सकका अनुसार अस्वस्थ खानपान, कब्जियत, बदलिँदो जीवनशैली र शारीरिक निष्क्रियताका कारण पायल्सको समस्या बढ्दो क्रममा रहेको छ।
चिकित्सकका अनुसार पायल्स मुख्यतया लामो समयसम्म कब्जियत हुनु, दिसा गर्दा धेरै जोड लगाउनु, फाइबरयुक्त खानाको कमी, पर्याप्त पानी नपिउनु, धेरै बेर बसिरहने बानी तथा मोटोपनाका कारण लाग्ने गर्दछ। गर्भावस्थामा महिलालाई पेटमा बढी दबाब पर्ने भएकाले पनि पायल्सको जोखिम बढ्ने स्वास्थ्य विज्ञको भनाइ छ। पायल्स हुँदा दिसा गर्दा दुख्ने, रगत आउने, चिलाउने, पोल्ने तथा गुदाद्वार वरिपरि मासु पलाउनेजस्ता लक्षण देखिने गर्छन्। सुरुमा बेवास्ता गर्दा समस्या गम्भीर बन्दै जाने र अन्ततः शल्यक्रियासम्म पुग्न सक्ने चिकित्सकले चेतावनी दिएका छन्। स्वास्थ्य विज्ञका अनुसार पायल्सबाट बच्न सबैभन्दा पहिला खानपानमा सुधार आवश्यक छ।
फाइबरयुक्त खाना जस्तै हरियो सागसब्जी, फलफूल, गेडागुडी, दलिया, ओट्स र पुरै अन्न नियमित रूपमा खानु उपयुक्त हुने उनीहरूको सुझाव छ। यसले दिसा नरम बनाइ कब्जियत कम गर्न मद्दत पुर्याउने बताइएको छ त्यसैगरी, दिनमा कम्तीमा दुईदेखि तीन लिटर पानी पिउनुपर्ने चिकित्सकको सल्लाह छ। चिल्लो, मसलेदार, अत्यधिक पिरो, फास्ट फुड, मदिरा र चुरोटजस्ता पदार्थले पायल्सको समस्या झन् बढाउने भएकाले यस्ता खानेकुरा सकेसम्म त्याग्न सुझाव दिइएको छ। जीवनशैली सुधार पनि उत्तिकै महत्वपूर्ण रहेको स्वास्थ्यकर्मीको भनाइ छ।
लामो समय कुर्सीमा बसिरहनु, मोबाइल चलाउँदै शौचालयमा धेरै समय बिताउनु, शारीरिक व्यायाम नगर्नु पायल्सका मुख्य जोखिम कारक हुन्। त्यसैले नियमित हिँडडुल, हल्का व्यायाम, योग तथा शौचको नियमित समय निर्धारण गर्न चिकित्सकले आग्रह गरेका छन्। स्वास्थ्य विज्ञका अनुसार पायल्स लाज मान्नुपर्ने रोग होइन। प्रारम्भिक अवस्थामै जाँच गराए औषधि, खानपान र जीवनशैली परिवर्तनबाट सजिलै नियन्त्रणमा ल्याउन सकिने उनीहरूको भनाइ छ। लक्षण देखिनासाथ ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन चिकित्सकले सबैलाई आग्रह गरेका छन्।