काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–७ मा आज बिहान रुख काट्ने क्रममा एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार, स्थानीय मनकामना सामुदायिक वनमा बिहान ८ बजेतिर साजको रुखको हाँगा काट्ने क्रममा लडेर ३५ वर्षीय सुरेश लामा गम्भीर घाइते भएका थिए।
उद्धार गरी हेटौँडा अस्पताल भर्ना गरिएको लामा बिहान करिब १० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सुरेश लामा मकवानपुरको राक्सिराङ गाउँपालिका–८, टोक्चेराङका स्थायी बासिन्दा थिए र मनहरी गाउँपालिका–७ लामा टोलमा बस्दै आएका थिए।