काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले विकास साझेदार संस्थाहरू परियोजनामुखी भएकै कारण सामाजिक अभियानहरू प्रभावकारी हुन नसकेको बताएका छन्। सातौँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा आयोजित तीनदिने अन्तर्राष्ट्रिय सिकाइ सम्मेलनको उद्घाटन गर्दै मन्त्री खरेलले एनजिओ–आइएनजिओहरूले परियोजना पूरा भएसँगै अभियान नै अलपत्र पार्ने प्रवृत्तिले दीर्घकालीन प्रभाव नपरेको बताए।
उनका अनुसार, क्याम्पियन र प्रोजेक्ट फरक हुन्छन्। प्रोजेक्ट सकिनेबित्तिकै भोलिपल्ट अभियान समाप्त हुन्छ। अब प्रोजेक्ट होइन, अभियान बनाएर अघि बढ्नुपर्छ। मन्त्री खरेलले आधाभन्दा बढी जनसंख्या ओगट्ने नागरिकका लागि सुरक्षित र मर्यादित महिनावारी सुनिश्चित गर्न नीतिगत तथा संरचनागत सुधार आवश्यक रहेको बताए। महिनावारीको विषय लैङ्गिक हिंसा र पितृसत्तात्मक संरचनासँग जोडिएको भन्दै सबै तहमा भेदभाव अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
उनीले मर्यादित महिनावारी अभियानकी अगुवा डा.राधा पौडेलको योगदानको प्रशंसा गर्दै सरकारले उक्त एजेण्डाको पूर्ण स्वामित्व लिनुपर्ने धारणा व्यक्त गरे। यता सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले सुशासन र भ्रष्टाचारविरुद्धको कार्रवाई सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे। ठूला सम्भावित भ्रष्टाचार प्रकरणमा २५ भन्दा बढी मुद्दा दर्ता गरी अघि बढाइएको छ उनले भने। कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले महिनावारीबारे घर–विद्यालय–समुदायमा खुला संवाद आवश्यक रहेको बताइन्। फ्रान्सकी राजदूत भर्जिनी कोर्तेवालले मर्यादित महिनावारी अभियानलाई फ्रान्सले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाइन्।