काठमाडौँ । ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने नाराका साथ आज ३८औँ विश्व एड्स दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाइन्छ । दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले सन् २०३० सम्म एड्स महामारीलाई अन्त्य गर्ने कार्यमा सबैलाई एकजुट हुन आह्वान गरेकी छन् ।
उनले सन् २०३० सम्ममा एचआइभीको विश्वव्यापी मान्यताअनुसार नेपालले लिएको ९५–९५–९५ लक्ष्य हासिल गर्न सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताइन्। लक्ष्यको अर्थ ९५ प्रतिशत एचआइभी सङ्क्रमितहरूले आफ्नो सङ्क्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेहरू मध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून हुनुपर्ने भनिएको छ ।
शुभकामना सन्देश व्यक्त गर्दै उनले नेपालले विगत दुई दशकमा एचआइभी नियन्त्रणमा उल्लेखनीय प्रगति हासिल गरेको बताउँदै नेपालले प्राप्त गरेका यी उपलब्धीहरूलाई निरन्तरता दिँदै दिगो विकास लक्ष्य प्राप्ति गर्न सक्रियतापूर्वक अघि बढ्न आवश्यक रहेको बताइन्।