काठमाडौँ । हालै सार्वजनिक गरिएको एक अध्ययनले किवीफ्रुट, राईब्रेड र उच्च मिनरल भएको पानीले पुरानो कब्जियत क्रोनिक कन्स्टिपेशन कम गर्न प्रभावकारी हुने देखाएको छ। जर्नल अफ ह्युमन न्यूट्रिशन एन्ड डाएटेटिक्स तथा न्यूरोग्यास्ट्रोएन्टेरोलोजी एन्ड मोटिलिटी ले संयुक्त रूपमा प्रकाशित गरेको दिशानिर्देशनमा यी खानेकुराले पाचन स्वास्थ्यमा लाभ दिने उल्लेख गरिएको छ।
विश्वभर करिब हरेक ६–७ मध्ये एक जनालाई पुरानो कब्जियतको समस्या देखिन्छ। अमेरिकामा मात्र ९ देखि २० प्रतिशत वयस्कहरू यस्ता समस्याबाट पीडित छन्, जसको कारण स्पष्ट हुँदैन। कब्जियतका लक्षणमा हप्तामा तीनभन्दा कम दिसा लाग्ने, कडा वा टुक्रा–टुक्रा मल त्याग हुने, दिसा गर्दा दुख्ने वा धेरै बल गर्नुपर्नेजस्ता समस्या पर्ने उल्लेख छ। अध्ययनकी प्रमुख लेखक डा.एयरिनी डिमिडीका अनुसार, नयाँ गाइडलाइनले किवीफ्रुट, प्रुन, राईब्रेड तथा उच्च मिनरल भएको पानीजस्ता प्रमाण आधारित खानेकुरा नियमित परामर्शमा समावेश गर्न सहयोग गर्छ। उनका अनुसार यी सुझावले चिकित्सकलाई अझ स्पष्ट र वैज्ञानिक सल्लाह दिन तथा मानिसहरूलाई आफ्नै लक्षण व्यवस्थापन गर्न सजिलो बनाउनेछ।
किन किवी प्रभावकारी ?
कम फाइबर, पानीको कमी, शारीरिक निष्क्रियता वा तनावले पनि कब्जियत बढाउन सक्छ। यसैले चिकित्सकहरूले सामान्यतः आहार सुधारमा नै जोड दिने गर्छन्। नयाँ दिशानिर्देशनले विशेष रूपमा दैनिक २–३ वटा किवीफ्रुट सेवन गर्न सुझाव दिएको छ। किवीले– दिसा नरम बनाउने,आन्द्रामा पानीको मात्रा बढाउने,पाचन प्रणालीलाई सक्रिय बनाउने,खानाको आवागमन सहज बनाउने,आन्द्रामा सुजन कम गर्ने,प्रोटिन पाचन सुधार्ने जस्ता फाइदा पुर्याउने गरेको पाईन्छ। किवीको बोक्रा समेत खाँदा थप फाइबर पाइने विशेषज्ञहरूको भनाइ छ। तर किवी तताएर खान नहुने, किनकि उच्च तापक्रमले पाचन सहज बनाउने प्राकृतिक इन्जाइम नष्ट गरिदिने बताइएको छ।