काठमाडौँ। सर्वोच्च अदालतले व्यापारी तथा विवादास्पद अभिव्यक्तिका कारण चर्चामा रहँदै आएका दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । प्रसाईंका छोराले बाबुलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।
न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सरकारले प्रसाईंलाई थुनामा राखेको कारण स्पष्ट पार्न निर्देशन दिएको छ। साथै, प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराउन पनि इजलासले आदेश गरेको हो। प्रसाईंलाई सार्वजनिक शान्ति भंग हुनेगरी अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मध्यराति भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। उनलाई नियन्त्रणमा लिएर अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिएको छ। पक्राउ पछिको घटनाक्रमका कारण प्रसाईं समर्थक तथा विरोधी दुवै पक्षमा राजनीतिक र सामाजिक बहस चर्किएको छ।