काठमाडौँ । बेलायती राजपरिवारकी सदस्य तथा डचेस अफ ससेक्स मेगनका पिता थोमस मार्कललाई अमेरिकाको फ्लोरिडामा बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री राखेको आरोपमा पक्राउ गरिएको छ।
अमेरिकी न्याय मन्त्रालयका अनुसार ८२ वर्षीय मार्कलमाथि बाल अश्लील सामग्री राखेको एक अभियोग लगाइएको छ। उनीमाथि करिब दुई दशकदेखि लस एन्जलस क्षेत्रमा भाडामा लिएका दुईवटा भण्डारण कक्षमा बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री राखेको आरोप लागेको छ। अधिकारीहरूका अनुसार ती सामग्रीमा बालिकासँग सम्बन्धित यौन प्रकृतिका तस्बिरसमेत रहेको आरोप छ। अनुसन्धानका क्रममा मार्कलले भाडामा लिएका भण्डारण कक्षमा खानतलासी गर्दा स्लाइड, फिल्मका नेगेटिभ र पुस्तकसहित करिब ७८ वटा शंकास्पद सामग्री बरामद गरिएको बताइएको छ।
मार्कललाई फ्लोरिडाको लेकल्यान्डबाट पक्राउ गरिएको बताइएको छ। उनीविरुद्धको मुद्दा हाल अदालतमा विचाराधीन रहेको छ। उनलाई फ्लोरिडास्थित अमेरिकी जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिएको छ। यसअघि पनि मार्कलमाथि यस्तै आरोप लागेको थियो। उनले भने आफूविरुद्ध लगाइएका आरोप अस्वीकार गर्दै ती आरोपलाई ‘घृणित झूट’ भन्दै खण्डन गरेका थिए।
मेगनले व्यक्त गरेकी थिइन् दुःख
आफ्ना पिताविरुद्ध आरोप सार्वजनिक भएपछि मेगनले गत महिना वक्तव्य जारी गर्दै घटनाप्रति आफू निकै दुःखी भएको बताएकी थिइन्। उनले कुनै पनि बालबालिकालाई यस घटनाबाट क्षति पुगेको भए उनीहरूप्रति आफ्नो सोच र चिन्ता रहेको बताएकी थिइन्। साथै, आफ्ना पितासँग आफूले अधिकांश सम्पर्क किन तोडेकी हुन् भन्ने कुरा बुझिदिन पनि उनले आग्रह गरेकी थिइन्। मेगन र उनका पिता थोमस मार्कलबीच सन् २०१८ देखि सम्बन्धमा दूरी रहँदै आएको छ। यस घटनाबारे अमेरिकी न्याय मन्त्रालयले थप अनुसन्धान भइरहेको जनाएको छ। हालसम्म सार्वजनिक विवरणअनुसार मार्कलमाथि आरोप मात्र लागेको हो र अदालतबाट दोषी ठहर भइसकेका छैनन्।