काठमाडौँ । नेपालमा हरेक दिन करिब ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखा परेको पाइएको छ। यस क्यान्सरका कारण हरेक दिन चार जना महिलाले ज्यान गुमाइरहेकी छन्। यसै जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले सरकारले पहिलो पटक ‘विश्व पाठेघर मुखको क्यान्सर निवारण दिवस’ मनाएको छ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले पाठेघर मुखको क्यान्सरलाई महिलामा हुने प्रमुख क्यान्सर भएको बताए । उनले भने, “यो क्यान्सरबाट महिलाहरूको मृत्यु हुनेमा पहिलो नम्बरमा पर्छ। रोकथाम गर्न सकिने भए पनि नेपालमा प्रतिदिन ६ महिला यसबाट प्रभावित भैरहेकी छन् र चारजनाले ज्यान गुमाइरहेकी छन्।” उनले क्यान्सर न्यूनीकरणका लागि समयमै स्क्रिनिङ, खोपको विस्तार, जनचेतना वृद्धि र स्वास्थ्य प्रणाली सुदृढीकरण आवश्यक भएकोमा जोड दिए।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा महिलामा पाठेघरको मुखको क्यान्सर चौथो प्रमुख क्यान्सर हो। प्रत्येक वर्ष करिब ६,६०,००० महिलामा यो क्यान्सर देखिन्छ भने करिब तिन लाख ५० हजार महिलाले यसको कारणले ज्यान गुमाउँछिन्।
नेपाल सरकारले सन् २०३० सम्म कम्तीमा ९० प्रतिशत किशोरीलाई खोप लगाउने, ३० वर्ष माथिका कम्तीमा ९० प्रतिशत महिलाको स्क्रिनिङ गर्ने र पाठेघरको मुखको क्यान्सरको निदान भएका कम्तीमा ९० प्रतिशत महिलाको उपचार गर्ने रणनीतिक लक्ष्य तय गरेको छ। यसका लागि गत वर्षदेखि राष्ट्रिय खोप कार्यक्रममा खोप समावेश गरिएको छ र करिब ९४ प्रतिशत किशोरीलाई पहिलो पटक निःशुल्क खोप प्रदान गरिएको थियो।
यस वर्ष फागुन महिनामा पनि विद्यालय जाने ६ कक्षाका छात्रा र विद्यालय बाहिरका १० वर्षसम्मका किशोरीलाई खोप दिने कार्यक्रम रहेको छ। साथै, स्थानीय तह मार्फत सञ्चालन हुने एकीकृत प्रजनन स्वास्थ्य शिविर र तालिमप्राप्त स्वास्थ्यकर्मी भएका स्वास्थ्य संस्थामा ३० वर्ष माथिका महिलाको निःशुल्क नियमित स्क्रिनिङ कार्यक्रम पनि सञ्चालन भइरहेको छ।
नेपाल सरकारले क्यान्सरका विरामीहरूलाई उपचारमा सहुलियत पनि प्रदान गर्दै आएको छ। तथापि, नेपाल जनसाङ्ख्यिक सर्वेक्षण अनुसार करिब ११ प्रतिशत महिलाले मात्र पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गराएका छन्। यसको प्रमुख कारणहरूमा जनचेतनाको कमी, स्वास्थ्य सेवामा सीमित पहुँच, दक्ष जनशक्ति अभाव, नियमित कार्यक्रमको कमी, कमजोर तथ्याङ्क व्यवस्थापन, सामाजिक लाज र आर्थिक चुनौतीहरू रहेका छन्।
यसका कारण धेरै महिलामा रोग ढिलो चरणमा मात्र पत्ता लाग्ने र मृत्यु दर उच्च हुने गरेको छ। यसै सन्दर्भमा सरकारले यस वर्षदेखि पहिलो पटक ‘आजै देखि लागौँस् पाठेघरको मुखको क्यान्सर निवारण गरौँ’ भन्ने नारासहित दिवस मनाएको छ।