काठमाडौँ । वीर अस्पतालले अब श्वासप्रश्वाससम्बन्धी १० प्रकारका भाइरस एकैपटक जाँच गर्न सकिने सेवा सुरु गरेको छ। अस्पतालको मेडिकल जेनेटिक्स (आनुवंशिक) प्रयोगशालामा सुरु गरिएको यस सेवाले बिरामीको समय र खर्च दुवै बचत गर्ने विश्वास गरिएको छ।
अस्पतालकी मेडिकल आनुवंशिक विभाग प्रमुख डा.नीलम ठाकुरका अनुसार, “निमोनिया र विभिन्न प्रकारका इन्फ्लुएन्जा लगायत १० वटा संक्रमण अब एउटै स्याम्पलबाट परीक्षण गर्न सकिन्छ। यसअघि हरेक भाइरसको लागि छुट्टाछुट्टै स्याम्पल आवश्यक पर्थ्यो र परीक्षण फरक–फरक समयमा गर्नु पर्थ्यो। अब यो प्रक्रिया सरल र छिटो भएको छ।”
डा. ठाकुरले भनिन्, “वाइरस पत्ता लागेपछि उपचार वीर अस्पतालमै गरिनेछ। अस्पताल बाहिरबाट ल्याइएको स्याम्पल पनि यहाँ परीक्षण गर्न सकिनेछ।” त्यसैगरी, वीर अस्पतालको जेनेटिक प्रयोगशालामा मस्तिष्कसम्बन्धी ६ प्रकारका भाइरसको एकैसाथ परीक्षण सुरु गरिएको छ। डा.ठाकुरका अनुसार, “अब मस्तिष्कमा हुने विभिन्न भाइरस संक्रमण पनि एउटै स्याम्पलबाट परीक्षण गर्न सकिन्छ।”
साथै, अस्पतालले फोक्सोबाहेक अन्य अंगमा हुने क्षयरोग (टीबी) को परीक्षण सेवा पनि सुरु गरेको छ। डा. ठाकुरले स्पष्ट पारिन्, “टीबी केवल फोक्सोमा मात्र हुने रोग होइन, घाँटी, पाठेघर, मेरुदण्ड जस्ता अंगमा पनि हुन सक्छ। त्यसैले अब यी अंगमा हुने टीबीको परीक्षण पनि सम्भव भएको छ।” अहिले वीर अस्पतालमा दिनहुँ २५ प्रकारका आनुवंशिक रोगका भाइरस नियमित रूपमा परीक्षण भइरहेको छ। विसं २०७३ मा स्थापना भए पनि प्रारम्भिक समयमा जनशक्ति र उपकरणको अभावले नियमित परीक्षण चुनौतीपूर्ण थियो।