काठमाडौँ । मधुमेह अहिले नेपालमा जनस्वास्थ्यका लागि ठूलो चुनौती बन्न थालेको छ। पहिले यो रोग मुख्यतया बूढाबूढी र धनी वर्गमा देखिन्थ्यो, तर पछिल्लो समय युवा पुस्तामा पनि यसको वृद्धि भएको देखिन्छ।
स्वास्थ्य सेवा विभागको ‘हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम’ (एचएमआईएस) अनुसार, देशभरका अस्पताल र स्वास्थ्य संस्थाबाट संकलित तथ्यांकले देखाउँछ कि मधुमेहले मुटु रोग र क्यान्सरभन्दा बढी मानिसलाई असर पारेको छ। यसले मधुमेहलाई अब ‘सुषुप्त महामारी’को रूपमा हेर्न थालिएको संकेत दिन्छ।
मधुमेह के हो ?
अन्नपूर्ण न्युरो अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा.उत्सव पौडेलका अनुसार, “रगतमा चिनीको मात्रा बढी हुनु नै मधुमेह हो। प्यान्क्रियाजले उत्पादन गर्ने इन्सुलिन पर्याप्त नभए वा काम नगरेमा रगतमा ग्लुकोजको मात्रा बढ्छ।” बिहान खाली पेटमा रगतमा चिनी १२६ मिलिग्राम भन्दा बढी देखिए मधुमेहको सम्भावना उच्च हुन्छ भने १००–१२६ मिलिग्रामको बीचमा भए प्रि-डाइबिटिजको अवस्था हुनसक्छ।
रोकथाम र जीवनशैली :
प्रि–डाइबिटिजको अवस्थामा रहेका मानिसले खानपान र जीवनशैलीमा सुधार नगरे छोटो समयमा मधुमेहको चरणमा पुग्छन्। तर जीवनशैली सुधार गर्दा मधुमेहको जोखिम कम गर्न सकिन्छ। डाइबिटिज भएका व्यक्तिले खानपानमा विशेष ध्यान दिनुपर्छ। हरियो सागसब्जी, कम कार्बोहाइड्रेट भएका खानेकुरा, दूध र दही बढी खानु राम्रो हुन्छ। रातो मासु, तलेको खाना, धेरै चिनी र तेलयुक्त खानेकुरा कम गर्नुपर्छ। साथै रक्तचाप १३०\८० भित्र राख्नु आवश्यक छ।
व्यायाम र सक्रिय जीवनशैली :
मधुमेह रोक्नका लागि नियमित व्यायाम, तनाव कम गर्नु, धूमपान र मद्यपान नगर्नु अत्यावश्यक छ। डा.पौडेलका अनुसार, “प्रतिदिन कम्तीमा ३० मिनेट हिँड्दा मधुमेहको जोखिम कम हुन्छ।” सन्तुलित खानपान नै इन्सुलिनको मात्रा नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी उपाय हो । बजारमा पाइने सुगर फ्री खाद्यवस्तु पनि मधुमेहमा असर गर्न सक्छ, त्यसैले सावधानी अपनाउन आवश्यक छ। मधुमेहले मुटु, मिर्गौला, आँखा, मस्तिष्क र छालामा असर गर्न सक्छ। त्यसैले मधुमेह भएका व्यक्तिले नियमित तीन–तीन महिनामा डाक्टरसँग फलोअप गर्नु अनिवार्य छ।