काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा साउनदेखि कात्तिकसम्म सवारी दुर्घटनामा परेर ६२ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
उक्त अवधिमा प्रदेशभर ५७९ सवारीसाधन दुर्घटना भएका छन्। तीमध्ये ३३७ मोटरसाइकल, ६६ जीपरकार, ४७ अटो, टेम्पो, २१ बस, १९ ट्याक्टर, १३ माइक्रो र ९९ अन्य सवारीसाधन रहेको ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटनामा परेर ७९५ जना घाइते भएका छन् । ४३० जना गम्भीर घाइते रहेका छन्। ज्यान गुमाउनेमा ४३ जना पुरुष, १६ महिला र ३ बालबालिका रहेका छन्। गम्भीर घाइतेमा २७७ पुरुष, ९६ महिला, ३३ बालक र २४ बालिका छन्।
प्रदेश ट्राफिक प्रहरीका प्रवक्ता डीएसपी टेकबहादुर जोराका अनुसार, सवारी दुर्घटनाको ९० प्रतिशत कारण चालकको लापरवाही रहेको छ। उनले भने, “यान्त्रिक गडबडीका कारण हुने दुर्घटना घटेको छ, तर तराई क्षेत्रमा छाडा चौपाया र पहाडी क्षेत्रमा कच्ची सडक दुर्घटनाको प्रमुख कारण बनेका छन्। ”साउनमा सबैभन्दा बढी १७५, असोजमा १५४, भदौमा १३८ र कात्तिकमा ११२ सवारीसाधन दुर्घटना भएका छन्। डीएसपी जोराले प्रदेशका स्थानीयवासीहरूलाई सडक नियम पालनामा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।