काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् आयात गर्ने तयारी अघि बढाएको छ।
यसका लागि प्राधिकरणले भारतीय विद्युत् व्यापारिक कम्पनीहरूलाई प्रतिस्पर्धात्मक प्रक्रियामा सहभागी हुन आह्वान गर्दै प्रस्ताव मागेको छ।प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार चौबिसै घण्टा निरन्तर विद्युत् उपलब्ध गराउने गरी राउन्ड द क्लक आरटीसी प्रणालीअन्तर्गत विद्युत् खरिद गर्न लागिएको हो। भारतका क्याटागोरी १, २ र ३ अन्तर्गत विद्युत् व्यापारको अनुमति पाएका कम्पनीहरूले बोलपत्र पेस गर्न सक्नेछन्।
बोलपत्र बुझाउने अन्तिम समय सन् २०२६ डिसेम्बर २८ अर्थात् २०८३ पुस १३ गते दिउँसो १२ बजेसम्म तोकिएको छ। प्राधिकरणले सोही दिन दिउँसो १ बजे प्राविधिक प्रस्ताव खोल्ने जनाएको छ।बोलपत्रमा सहभागी हुन भारतीय रुपैयाँ १२ हजार ५०० वा सो बराबरको नेपाली रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ। साथै, प्रस्तावित विद्युत् क्षमताअनुसार प्रतिमेगावाट प्रतिमहिना ५५ हजार भारतीय रुपैयाँका दरले धरौटी रकम जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।
इच्छुक कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय बोलपत्र प्रणालीबाट आवश्यक कागजात डाउनलोड गरी अनलाइनमार्फत प्रस्ताव पेस गर्नुपर्नेछ। प्राविधिक प्रस्ताव प्राधिकरणको दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा खोलिनेछ।प्राधिकरणले प्राप्त बोलपत्रमध्ये कुनै एक वा सबै प्रस्ताव स्वीकार अथवा अस्वीकार गर्न सक्ने अधिकार सुरक्षित राखेको पनि सूचनामा उल्लेख गरेको छ।