काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिका–२ सलामकोटका स्थानीय चूडामणि कँडेल सात वर्षदेखि कालिजपालन गर्दै आएका छन्। २०७५ सालमा काभ्रेबाट तीन पोथी र एक भाले कालिज ल्याएर सुरु गरेको यो व्यवसाय आज व्यावसायिक रूप लिइसकेको छ।
कँडेलले रु २४ हजारमा सुरु गरेको कालिजपालन व्यवसायमा हालसम्म ५० लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। उनी १० रोपनी क्षेत्रफलमा तारबार लगाएर कालिज हुर्काइरहेका छन्। कालिज व्यवसाय राम्रो हुँदै गएपछि उनले चल्ला उत्पादन पनि सुरु गरेका छन्। बागलुङमा वनमा पाइने कालिजलाई व्यावसायिक रूपमा पाल्न थालेपछि स्थानीयवासी समेत आश्चर्यचकित छन्।
कँडेल स्वास्थ्यकर्मी हुन् र बिहानबेलुका कालिजको हेरचाह गर्दै दिउँसो बुर्तिबाङ प्रादेशिक अस्पतालमा काम गर्छन्। सानैदेखि चराचुरुङ्गी समाउन र पाल्न रुचि राख्ने कँडेलको फार्ममा अहिले करिब दुई हजार कालिज रहेका छन्। उनले बताएअनुसार, १,५०० भन्दा बढी कालिज बिक्रीका लागि तयार छन्। दशैं–तिहारको अवधिमा करिब २०० कालिज बिक्री भइसकेको छ। कालिजको मूल्य प्रति पोथी रु २ हजारदेखि २ हजार ५०० सम्म रहेको छ।
कँडेलले भने, यो पेसा मेरो रहरको हो। सुरुमा थोरै मात्र पालेको थिएँ, अहिले व्यावसायिक रूपमा व्यवस्थापन गर्दै आएको छु। सात वर्षमा कालिजपालन र यसको भाषा बुझ्न सिकेको छु। केही दिनअघिदेखि चितुवा फार्ममा पसेर १५० कालिज मार्दा रु ३ लाखको नोक्सानी भइसकेको उनले जानकारी दिए। यस वर्ष कँडेलको लक्ष्य रु १५ लाखको कालिज बिक्री गर्नु रहेको छ। फार्म व्यवस्थित हुँदै गएसँगै माग पनि बढ्दै गएको र उनले ह्याचरीमार्फत चल्ला उत्पादन गर्न थालेको बताए।