काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरमा दुई वटा मोटरसाइकलसँग मालबाहक ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
बुधबार दिउँसो मदन भण्डारी राजमार्गमा भिमानबाट दुधौलीतर्फ जाँदै गरेको नाप्र १–०२–००२ ख ४११ ट्रक र विपरीत दिशाबाट आएका नाप्र २–०१–००१ प २१४२ र मप्र.२–००६ प ५८४१ को दुईवटा मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय डकाहाको प्रमुख प्रहरी निरीक्षक सपना खड्काले जानकारी दिइन् ।
धनकुटा जिल्ला छथर जोरपाटी गाउँपालिका–६ का २५ वर्षीय शेरबहादुर विष्टले चलाएको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थल नजिकै आगलागी समेत भएको प्रहरीले जनाएको छ । मप्र.२–००६ प ५८४१ नम्बरको मोटरसाइकलमा लागेको आगोका कारण सो सवारी पूर्णरूपमा क्षतिग्रस्त भएको थियो।दुर्घटनापछि ट्रक र चालक प्रहरी नियन्त्रणमा लिइएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुर्घटनामा दुधौली नगरपालिका–११ टाडीका ३४ वर्षीय रामकुमार कुमर र सोही क्षेत्रका २५ वर्षीय फुलबाबु धामीको दुधौली नगर अस्पताल सिर्थौलीले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक खड्काको अनुसार दुधौली–३ का २६ वर्षीय विप्लव धामी, सोही ठाउका २७ वर्षीय बुद्धि थारू २५ वर्षीय सुनिल माझी र ३२ वर्षीय कुशे धामी रहेका छन् । तीमध्ये विप्लव, बुद्धि र कुशेको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।