काठमाडौँ। जाडोयाम सुरु भएसँगै मौसमी फ्लुका बिरामी बढ्दै गएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मौसमी फ्लुका बिरामीको सङ्ख्या बढ्दै गएको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन अस्पतालमा यकिन तथ्याङ्क नभए पनि अन्य समयको तुलनमा रुघाखोकी लागेर अस्पताल आउने सङ्ख्या बढ्दै गएको बताए । रुघाखोकी लागेर, ज्वरो आएर, खान मन नलाग्ने, घाँटी दुख्नेजस्ता समस्या लिएर बिरामी अस्पतालमा आउने डा. पुनको भनाइ छ । परीक्षण नभए पनि मौसमी फ्लु (इन्फ्लुएन्जा) को कारणले रुघाखोकीको समस्या बढ्दै गएको डा. पुनको भनाइ छ ।
फ्लु भाइरसका कारणले लाग्ने सङ्क्रामक रोग हो । डा.पुनका अनुसार मौसमी फ्लुले ( इन्फ्लुएन्जा ) वर्षमा दुई पटक बढी दुःख दिने गर्छ । जाडो महिनामा यो भाइरस बढी सक्रिय हुन्छ । यो भाइरसले सबै उमेर समूहका मानिसलाई सङ्क्रमण गराउँछ । मौसमी फ्लु भाइरस ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारका हुन्छन् । नेपालमा ‘ए’ र ‘बी’ भाइरसले बढी दुःख दिन्छ ।
फ्लु ‘ए’ भाइरस विभिन्न समयमा महामारीको रूपमा देखिँदै आएको छ । ए अन्तर्गत एचथ्री एन टु अर्थात् हङकङ फ्लु पर्छ । यो फ्लु सामान्य रुघाखोकी भन्दा घातक हुने गर्छ । यसले गर्दा श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउने गर्छ । सङ्क्रमणले गर्दा ज्वरो आउने, खोकी लाग्ने, घाँटी, टाउको, मांसपेशी, जोर्नी दुख्ने, नाकबाट सिगान बग्ने, नाक बन्द हुनु, थकान महसुस हुने जस्ता लक्षण देखिने गरेको डा. पुन ले बताए ।
मौसमी फ्लुले दीर्घ श्वासप्रश्वासका बिरामी जस्तै दम, निमोनियाका बिरामी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक कम भएका मानिस, बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीलाई जटिल स्वास्थ्य समस्या निम्त्याइ अस्पतालमा भर्नादर बढाउने डा. पुनको भनाइ छ । मौसमी फ्लुबाट सङ्क्रमित हुनासाथ जथाभावी औषधी किनेर नखान उनको आग्रह छ । सामान्य मानिस सङ्क्रमित भएमा झोलिलो खानेकुरा खाँदै घरमा आराम गर्दा आफैं निको हुँदै जाने र बिरामी भएका व्यक्तिसँग भौतिक दूरी राख्न, खोक्दा हाच्छिउँ गर्दा मुख र नाक छोप्न, शारीरिक रूपमा सक्रिय हुने र प्रशस्त पौष्टियुक्त खाना र झोलिलो खानेकुरा खाने, सम्भव भएसम्म बिरामी हुँदा घरमै आराम गर्ने, बेला-बेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरे ।