काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छन् । मन्त्री गौतमले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेकी हुन् ।
पदभार ग्रहण गर्दै उनले जेनजी आन्दोलनका घाइते तथा प्रभावितका लागि नि:शुल्क मनोसामाजिक परामर्शको व्यवस्था गर्ने निर्णय गरेकी छन् । ‘जेनजी आन्दोलनबाट प्रभावित सबै व्यक्तिहरूको लागि मनोसामाजिक परामर्श सेवाको व्यवस्थापन गर्ने पहिलो निर्णय भएको छ । यसको डिटेल हाम्रो विज्ञहरूबाट वर्कआउट हुन्छ, त्यसपछि फेरि तपाईंहरूलाई बताउँछु,’ उनले भनिन् ।
विज्ञहरूको सुझावको आधारमा मनोसामाजिक परामर्श कसरी दिने भन्नेबारे छलफल गरेर कार्य अगाडि बढाउने उनले बताइन् । उनले मन्त्रालयभित्र आर्थिक र प्रशासनिक दुवै प्रकारका भ्रष्टाचार अन्त्य गर्न निर्देशन दिएकी छन् । गौतमले कुनै पनि किसिमको भ्रष्टाचार सह्य नहुने चेतावनी दिइन् ।
उनका अनुसार अनावश्यक रूपमा आफन्त वा नातेदारलाई प्राथमिकता दिने, कार्यालयका काममा काखापाखा गर्ने जस्ता व्यवहार पनि भ्रष्टाचारकै रूप हुन् । मन्त्री गौतमले स्वास्थ्य क्षेत्रलाई पारदर्शी र जनमुखी बनाउन सबै कर्मचारीलाई इमान्दारीपूर्वक जिम्मेवारी वहन गर्न आग्रह गरेकी छिन् ।
उनले भनिन्, ‘कुनै पनि कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस् । भ्रष्टाचार आर्थिक रूपमा पनि हुन्छ र प्रशासनिक रूपमा पनि हुन्छ । हामीले अनायासै रूपमा काखापाखा गर्ने कुराहरू पनि भ्रष्टाचारकै अंगहरू हुन् । त्यसकारण यस्तो चाहिँ नहोस् भनेर हामीले ख्याल गर्नुपर्छ ।’