काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाहरूमा हैजाको प्रकोप फैलिएको पुष्टि गरेको छ ।
मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा हालसम्म १९४ जना बिरामीमध्ये ७१ जनामा हैजाको संक्रमण पुष्टि भएको जनाएको हो ।मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा वीरगञ्ज महानगरपालिकाको वडा नं. १, ३, ११, १२, १३ र १६ मा हैजाको प्रकोप देखिएको उल्लेख छ ।
प्रभावितमध्ये १६५ जना विभिन्न अस्पतालहरूमा उपचाररत छन् । जसमध्ये २२ जनाको सघन उपचार कक्ष (आईसीयू) र ६ जनाको हाई डिपेन्डेन्सी युनिट (एचडीयू) उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।रोगको थप पहिचानका लागि २२ वटा नमुना प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुर र १० वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा कल्चर र सेरोटाइपिङका लागि पठाइएको छ ।
साथै रोगको स्रोत पत्ता लगाउन पानीका तीनवटा नमुना पनि परीक्षणका लागि पठाइएको मन्त्रालयले जनाएको छ ।
