वीरगन्ज । हैजा प्रकोप बढ्न थालेसँगै वीरगन्ज महानगरभित्र सुरक्षा सतर्कता पनि बढाइएको छ ।
यसैबिच महानगरपालिका कार्यालयले आजै (शनिबार) सबै वडाका स्वास्थ्यकर्मीसँग छलफल गरेर सबै विद्यालयहरू दुई दिन बन्द गर्ने निर्णय गरिएको छ।
महानगरको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै आइतबार र सोमबार दुई दिन विद्यालय बन्द गर्ने निर्देशन दिएको हो । साथै पानीपुरी, चटपटे, चाटसहित स्ट्रिट फुड बिक्रीमा प्रतिबन्ध लगाउने निर्णय पनि भएको छ । स्वास्थ्यकर्मीहरूले हैजाको लक्षण देखिए तुरुन्त नजिकैको स्वास्थ्य केन्द्रमा पुग्न, उमालेर मात्रै पानी पिउन आग्रह गरिरहेका छन् ।
प्रकोपबाट जोगिन जनचेतना फैलाउने कार्य भइरहेको छ । दुई दिनमै महानगरका विभिन्न वडामा २८ जनामा यसको संक्रमण पुष्टि भइसकेको र २ जनाको ज्यान समेत गईसकेको जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
वीरगञ्जका ११, १२, १३, १४, १६ नम्बर वडामा हैजा संक्रमित बढी फेला परेका छन् । यसले महामारीको गम्भीर रूप लिन सक्ने जनस्वास्थ्य कार्यालयले चेतावनी दिएको छ । वीरगञ्जको नारायणी अस्पताल, वीरगञ्ज हेल्थ केयर, तराई अस्पताल, नेशनल मेडिकल कलेज, अलि अर्थो सेन्टरमा हैजा संक्रमितलाई राखिएको महानगरपालिकाले जनाएको छ ।
दूषित पानी र खानाले हैजाको संक्रमण देखिएको महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजु शाहले बताए । उनका अनुसार हाल संक्रमणको आंशका गरी स्वास्थ्य जाँच बढाइएको छ ।