वीरगञ्ज । वीरगञ्ज महानगर-१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएका छन्। वीरगञ्ज महानगर, स्वास्थ्य कार्यालय पर्सालगायत निकायका टोली शुक्रबार रातिदेखि नै परिचालन भएका छन्।
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले हैजाका बिरामी भेटिएको थाहा पाउनेबित्तिकै प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरेको जानकारी दिए। वीरगञ्ज महानगरका अनुसार मुर्ली टोलका ३० भन्दा धेरैमा झाडापखालाको कारणले एकैपटक वीरगञ्जको तराई हस्पिटलमा भर्ना भएका थिए।
सो अस्पतालले ठूलो सङ्ख्यामा बिरामी आएपछि वीरगञ्ज महानगरलाई खबर गरेको थियो। नारायणी अस्पताल वीरगञ्ज र स्वास्थ्य कार्यालय पर्साको समन्वय गरिएको परीक्षणका क्रममा तीन जना बिरामीमा हैजाको जीवाणु भाइब्रियो कोलेरा पाइएको थियो।
वीरगञ्ज महानगर स्वास्थ्य शाखा प्रमुख राजु शाहले तीन जना बिरामीमा हैजाको सङ्क्रमण देखिएकोमध्ये एक जना किशोरको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी दिए। सङ्क्रमितमध्ये १६ वर्षीय किशोर, २४ वर्षीय युवक र २४ वर्षीय महिला छन्।
यस्तै, मुर्ली टोलका घरहरूमा प्रयोग भइरहेको पिउने पानीको नमूना थप परीक्षणका लागि काठमाडौँको टेकुस्थित प्रयोगशालामा पठाइएको छ। महानगरका अनुसार हैजा फैलन नदिन र स्थानीयलाई सतर्क बनाउन शुक्रबार रातिदेखि नै स्वास्थ्यकर्मीको टोली घरघरमा पुगेर जनचेतना फैलाउने काम गरिरहेका छन्। स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले विगत १० वर्षपछि वीरगञ्जमा हैजाको प्रकोप देखापरेको बताए।
महानगर प्रमुख सिंहले हैजा एक गम्भीर सङ्क्रामक रोग भएकाले यसको रोकथाममा कुनै पनि लापर्वाही नगर्न सबैलाई अनुरोध गरेका छन्। नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले नारायणी अस्पतालको आकस्मिक विभागमा पनि झाडापखालाका गम्भीर बिरामीको उपचार भइरहेको जानकारी दिए। ‘यो हैजा हुन सक्ने सम्भावना छ। नआत्तिकन आफूले पिउने पानी उमालेर वा निर्मलीकरण गरेर पिउन अनुरोध गर्छु,’ उनले भने।