काठमाडौँ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले जेभियर इन्टरनेशनल कलेजले आयोजना गर्न लागेको अस्ट्रेलियन एजुकेशन फेयर कार्यक्रम खुलेआम अवैध भएको बताएको छ ।
बुधवार सामाजिक सञ्जाल मार्फत इक्यानले खुलेआम कलेजहरूले परामर्शदाताको काम गरेर एजुकेशन फेयर आयोजना गर्नु, विद्यार्थीहरूको अधिकार र भविष्यसँग खेलवाड गर्नु पूर्ण रूपमा गलत र गैरकानुनी भएको बताएको छ । इक्यानले सबै अन्तर्राष्ट्रिय शैक्षिक प्रदार्यकहरुलाई अवैध रुपमा सञ्चालन भएको त्यस्ता कार्यक्रममा सहभागी नहुन पनि आग्रह गरेको छ ।
विदेश अध्ययनसँग सम्बन्धित यस्तो मेला सञ्चालन गर्न कानुनी अनुमति लिनुपर्ने भए पनि त्यस्तो कुनै पनि अनुमति नलिएको पाइएकोले नेपालमा लाइसेन्स नभएका कुनै पनि संस्था वा व्यक्तिसँग सहकार्य गर्नु गैरकानुनी भएको बताएको हो । इक्यानले अवैध अस्ट्रेलियन एजुकेशन फेयर सञ्चालन गर्न कसले दियो अनुमति भन्दै प्रश्न गरेको छ । विदेश अध्ययन सम्बन्धी परामर्श र व्यवस्थापनको काम इजाजत पत्र प्राप्त शैक्षिक परामर्श संस्थाहरूले गर्ने गरेको भएता पनि विना इजाजत पत्र कलेजहरूले यस्तो अवैध काम कसरी सम्भव भयो भन्दै इक्यानले गम्भीर अपराध भएको जनाएको छ ।
यस्तै प्याब्सन र हिसान जस्ता शिक्षा क्षेत्रका संस्थाहरूले तत्काल प्रभावमा स्पष्ट र कडा आधिकारिक धारणा सार्वजनिक गरी यस्ता अनियमितता रोक्न आवश्यक कदम चाल्नु आग्रह गरेको छ । जेभियर इन्टरनेशनल कलेजले आज अस्ट्रेलियन एजुकेशन फेयर नामक कार्यक्रमको आयोजना गर्दैछ ।