काठमाडौँ । उपत्यकामा बिक्री हुने जारको पानीमा फिकल कोलिफर्म (दिसाका जीवाणु) जीवाणु फेला परेको छ । ललितपुरका विभिन्न स्थानमा वितरण हुँदै आएको जारको खानेपानीमा फिकल कोलिफर्म पुष्टि भएको छ ।
जनस्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले सङ्कलन गरेका २८ नमुनामध्ये ११ मा फिकल कोलिफर्म पुष्टि भएको जानकारी दिए । उनका अनुसार गोदावरी नगरपालिका, महाँकाल गाउँपालिकाको गोटीखेल र पँधेरे खोलामा वितरण हुँदै आएको जारको पानीमा परीक्षण गर्दा फिकल कोलिफर्म पुष्टि भएको हो ।
यो भन्दा पहिले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा वितरण हुँदै आएको जारको पानीमा नियमित गुणस्तर परीक्षण गर्दा यो जीवाणु पुष्टि भएको थियो । फिकल कोलिफर्मयुक्त दूषित पानी पिउँदा झाडापखाला, टाइफाइड, हेपाटाइटिस ए, आउँ, झाडापखाला, हैजाजस्ता स्वास्थ्य समस्या निम्तने डा. पुनले बताए ।
लामो समयसम्म दूषित पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनुका साथै मिर्गौला, कलेजोलाई दीर्घकालीन असर पुर्याउने डा.पुनको भनाइ छ ।बालबालिका, जेष्ठ नागरिक, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस, दीर्घरोगीमा गम्भीर स्वास्थ्य समस्या निम्तने गर्छ।
बर्खायाममा पानीजन्य रोगबाट बच्न सतर्कता अपनाउनु चिकित्सकको अनुरोध छ । बर्खामा उमालेर वा फिल्टर गरेको पानीमात्र पिउन डा.पुनको सुझाव छ ।