काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आफ्नो एक वर्षे कार्यकालका उपलब्धिहरू सार्वजनिक गरेका छन्।सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले बजेट सीमितताबीच पनि स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सुधारको खाका तयार पारिएको बताए।
उनले संविधानले तोकेको संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अभिवृद्धि गरिएको जनाउँदै, निष्क्रिय विषयगत समितिहरूलाई पुनः सक्रिय पारिएको जानकारी दिए। उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य समितिमा आठवटा प्राविधिक उपसमिति गठन गरिएको छ, जसले सुझावका आधारमा नीति निर्माणमा सहयोग गरेको छ।
चिकित्सा पूर्वाधारमा उल्लेख्य प्रगति भएको मन्त्री पौडेलले बताए। हालसम्म ११३ आधारभूत अस्पताल निर्माण भइसकेको र १३७ निर्माणाधीन रहेको उल्लेख गर्दै उनले चालु वर्षमा २५० अस्पताल सम्पन्न हुने आशा व्यक्त गरे। साथै, २५७ वडामा स्वास्थ्य केन्द्र स्थापना भइसकेको र थप २५० वडामा काम अगाडि बढाइएको उनले जानकारी दिए।